बालेन र रविले नै लिनुपर्छ जस-अपजस


–केशवप्रसाद भट्टराई ।
नेपाली विज्ञ, विश्लेषक र राजनीतिर्मीहरू सधैँ जसो एउटाको अभाव र कमजोरीको जिम्मेवारी अर्कोको थाप्लोमा थोपरिदिने रोगबाट ग्रस्त छन् । विगतमा पनि त्यस्तो हुन्थ्यो र अहिले पनि त्यसै भइरहेको छ सरकारका अभाव र कमीहरुको दोष प्रधानमन्त्रीका सल्लाहकार र सचिवालयका कर्मचारीलाई ।

मन्त्री र प्रधानमन्त्रीका सल्लाहकार र सचिवालयका कर्मचारीले सरकारको नाउमा भए गरेका सवै कार्यको जिम्मेवारी स्वयं प्रधानमन्त्री र मात्रै प्रधानमन्त्री जिम्मेवार हुन्छन् । र राजनीतिक ÷ नैतिक रूपमा रास्वपा सभापति त्यसमा उत्तिकै जिम्मेवार छन् । सल्लाहकारहरू रोज्ने प्रधानमन्त्री, सचिवालयका कर्मचारीहरू छान्ने प्रधानमन्त्री, सल्लाहकार र सचिवालयका कर्मचारीले गर्ने कार्य, अधिकार र शक्तिको स्रोत प्रधानमन्त्री अनि दोष सल्लाहकारहरू सचिवालयका कर्मचारीहरूलाई ? उनीहरूले गर्ने सवै उचित –अनुचित कार्यको जिम्मेवारी प्रधानमन्त्रीकै हो !

मन्त्रीहरूले गलत र अनुत्तरदायी कार्य गरे भने मन्त्रीहरू कानुनी रुपमा जिम्मेवार होलान् तर त्यसको राजनीतिक र नैतिक जिम्मेवारी प्रधानमन्त्रीको र रास्वपा सभापति रवि लामिछानेको नै हो । रास्वपाका केही सांसदहरूको अराजक, उत्तेजक कार्य र व्यवहारको हकमा पनि त्यही हो ।

रास्वपाका सांसदहरू कानुनी र प्राविधिक रूपमा मात्रै जनप्रतिनिधि हुन्–अपवादको अवस्थामा कोही होलान्–त्यो अर्को कुरो भयो, तर वास्तवमा भएको चाहिँ आफ्नो क्षेत्रको सांसदको उम्मेदवार को हो मतदातालाई थाहा थिएन, उम्मेदवारको नाउ पनि थाहा थिएन तर भोट ओइरिएको– ओइरिएकै छ । मतदातालाई बालेनको नाउ थाहा थियो –घण्टी चुनाव चिन्ह भन्ने थाहा थियो बश । मुलुकभरी जसले भोट हाले बालेनको नाउमा हाले , घण्टी र रवि भनेर हाले । भोट हाल्नेले उम्मेदवार को हो चासो राखेनन् – त्यो कति ठिक कति बेठिक त्यो अर्को कुरा होला, तर मुलुकभरी घण्टीमा परेको भोट मूलत ः बालेन त्यसपछि रविको नाउमा मात्रै हो ।

यस्तो चुनाव त यो मुलुकमा भएकै थिएन , मुलुकमा बालेन र रवि जत्तिको लोकप्रिय नेता कोही थिएनन् । अनि मुलुकमा जे भइरहेको छ, जे भैरहेको छ त्यसको दोष सल्लाहकार र सचिवालयका कर्मचारीलाई दिएर हुन्छ ? राम्रो भए पनि बालेन र रवि नराम्रो भए पनि बालेन रवि । जस्तो मन्त्रालय घटाएको दावी सरकारको उपलव्धिको रूपमा गर्ने, अनि सय डेढ सय सल्लाहकारहरूको भीड थपेर राज्यमाथि झन् ठूलो भार थप्ने काम सल्लाहकार र सचिवालयका कर्मचारीले गरेका होलान् ?