अमेरिकाबाट एकैदिन ७५ नेपाली ‘डिपोर्ट’


काठमाडौँ । अमेरिकाले थप ७५ जना नेपालीलाई ‘डिपोर्ट’ गरेको छ । अमेरिकाले शुक्रबार चार्टर्ड विमानमार्फत ७५ नेपालीलाई डिपोर्ट गरेको हो ।

डिपोर्ट हुनेमा ७ महिला छन् । अमेरिकी विमानमार्फत नै उनीहरूलाई डिपोर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन् । डिपोर्ट हुनेमा भिजिट भिसामा गएर बसेका, वर्षौँदेखि अमेरिका बस्दै आएका पनि छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाउने गरिएको छ । तर डिपोर्ट भएकाहरुले मानव तस्करकाबारेमा भने कुनै सूचना दिने गरेका छैनन् ।

यसअघि भदौमा अमेरिकाले ३७, गत जेठमा ३७ जनालाई डिपोर्ट गरी नेपाल पठाएको थियो । विचौलियालाई ठूलो रकम दिएर नेपालीहरु अमेरिका छिर्ने गरेका छन् ।