दल दर्ता गराएर लोकतान्त्रिक बाटो अवलम्बन गरेकोमा एमालेलाई धन्यवाद


-रक्षा बम ।

‘चुनाव हुन दिन्नौ !’ – यो कसले किन भनिरहेको छ ? अनि कुन घमन्ड र शानका साथ भनिरहेको छ ? यसो भन्न उनीहरूलाई कसले हिम्मत दिलाईरहेको छ ? चुनाव हुन दिन्नौ भनिरहेकाहरूको संविधानबारे के धारणा छ ? मूल प्रश्न यतिखेर यो हुनुपर्छ । तात्कालिन सरकारको तानाशाहीपन जोगाउनका खातिर भदौ २३ मा जसरी सरकार निरकुंश बन्यो र त्यसपछि जे जस्तो अवस्था सिर्जना भयो त्यो हामी सबै सामु प्रष्ट नै छ । लोकतन्त्रमाथि र संविधानमाथि त्यही बेला पनि हमला गर्न खोजिएकै हो। राज्यविहीनताको अवस्थामा समेत हामीले लोकतन्त्र भनिरह्यौं । संविधान भनिरह्यौ । र त्यसपछि बनेको नागरिक सरकारलाई हामीले प्रष्टसँग आन्दोलनको म्यान्डेट दिएका छौं। हाम्रो म्यान्डेटले सुशासन र जवाफदेहीताको माग गर्दै भ्रष्टाचारको छानबिन, भदौ २३ र २४ का अपराधीलाई कारबाहीका साथै, संक्रमणकालीन अवस्थाबाट लोकतान्त्रिक निकास भनेर स्पष्ट रूपले भनेकै छ । र यतिखेर लोकतान्त्रिक निकाशबाट पर हट्नु भनेको सिङ्गो देशले त्यसको भार खेप्नु हो । फेरि अर्को तानाशाहको पाउमा लगेर देशको बागडोर सुम्पनु हो ।

उसो त भदौ २३ अगाडिसम्म तानाशाही निरंकुशता देखाइरहेका केपी ओली पनि त सत्तासँगको Break Up पछि, जनताले गरेको Rejection  सहन नसकेर गुण्डुमा संसद पुनःस्थापनाको एकोहोरो सुगा रटाई बम्किरहेकै छन् ।Rejected  प्रेमी मधुशालामा बसेर रोएजस्तै छ उनको रूवाई । एकातिर ‘नाई मलाई त्यही सत्ता चाहिन्छ’ वाला रून्चे आक्रोश छँदैछ तर अर्कोतिर एमालेले अर्को भाग पाइहालिन्छ कि भनेर दल दर्ता गराएको छ । यो कुराको लागि लोकतान्त्रिक बाटो अवलम्बन गरेकोमा भने एमालेलाई शंकाको सुविधासहित लोकतान्त्रिक यात्रामा स्वागत भन्नैपर्छ । त्यो बाहेक संक्रमणकालीन अवस्थालाई झन् अप्ठेरोमा पार्दै लोकतन्त्रलाई कमजोर बनाउनको लागि संविधानमा हमला गर्न चाहने जो जति छन्, तिनीहरू सबै यतिखेर चुनावको बिपक्षमा छन् र अहिलेको सरकारलाई कमजोर बनाउन चाहिरहेका छन् ।

आखिर चुनाव हुन नदिएर कुन शून्यतामा मुलुकलाई पुर्याउन खोजिरहेका छन् उनीहरू ? ’नाई मलाई त्यही सत्ता चाहिन्छ’ भन्ने ओलीहरू र ’हामी चुनाव दिन्नौं’ भन्ने जेनजी साथीहरू तपाईँहरूलाई स्पष्ट होस्, हामी त लोकतन्त्र चाहन्छौं । लोकतान्त्रिक निकास चाहन्छौं । र देशलाई नयाँ जनादेशका साथ हाम्रो आवाज बोल्नेहरूलाई संसदमा जनताको आवाज प्रतिनिधित्व गरिरहेको हेर्न चाहन्छौं । सबैले याद गरौं– लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो ।