ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायमैत्री कानुन निर्माण र नीतिगत सुधारमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताएका छन् ।
ललितपुर उद्योग वाणिज्य सङ्घको शुक्रबार आयोजित ४७औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सरकारसँग व्यवसायमैत्री कानुन निर्माण र नीतिगत सुधारका विषयमा महासङ्घले निरन्तर संवाद गरिरहेको जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले व्यवसायसँग सम्बन्धित कानुन तथा अध्यादेशमा सुधारका लागि सुझाव दिइएको र हालै ३६ बुँदे सुझावपत्र सरकारसमक्ष पेस गरिएकोसमेत जानकारी दिए ।
उनले भने, “नीति निर्माण र कानुनी सुधारका छलफलमा निजी क्षेत्रलाई औपचारिक उपस्थितिमा मात्रै सीमित गर्नु हुँदैन, निजी क्षेत्रलाई केवल साक्षीका रूपमा होइन, मुख्य सरोकारवालाका रूपमा सहभागी गराइनुपर्छ, प्रधानमन्त्री कार्यालयसँग लगानी प्रवद्र्धनसम्बन्धी अवधारणामा काम भइरहेको छ, अर्थमन्त्रीबाट १६ वटा ऐन सुधारको काम भएको छ ।”
उनले युवा उद्यमी तथा स्टार्टअप व्यवसायलाई प्रवद्र्धन गर्न सरकारले ल्याएका सहुलियतपूर्ण कर्जा कार्यक्रमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । नवीन उद्यमीको पहिचान र कर्जा प्राप्त गर्ने प्रक्रियामा देखिएका अस्पष्टता हटाउनुपर्ने उनको भनाइ थियो ।
ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महानगरपालिकाले ललितपुर उद्योग वाणिज्य सङ्घसँग समन्वय र सहकार्यमा उद्योगी व्यवसायीका हितमा काम गर्दै आएकाले आगामी दिनमा प्रभावकारी समन्वय र सहकार्य जारी रहने प्रतिबद्धता जनाइन् ।

प्रतिक्रिया