दमौली । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको दमौली-भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणले गति लिएको छ । प्रसारण लाइन निर्माणको हालसम्म करिब ८२ प्रतिशत काम सम्पन्न भएको छ ।
आयोजना प्रमुख श्यामजी भण्डारीले ३५ किलोमिटर लामो प्रसारण लाइनमा निर्माण गर्नुपर्ने ९४ टावरमध्ये ८३ वटाको जग निर्माण सम्पन्न भइसकेको जनाउँदै ८० वटा टावर खडा गरिसकिएको बताए । चितवन र तनहुँ जिल्लाका डिभिजन वन कार्यालयबाट वन क्षेत्रमा प्रवेश तथा रुख कटानको अनुमति प्राप्त भएपछि प्रसारण लाइन निर्माणले थप गति लिएको उनले बताए ।
हाल प्रसारण लाइनअन्तर्गत टावरको जग निर्माण, टावर खडा गर्ने, आवश्यक स्थानमा टावर संरक्षण गर्ने तथा तार तान्ने काम भइरहेको छ । चितवनको भरतपुर महानगरपालिका र तनहुँको देवघाट गाउँपालिका क्षेत्रमा तार तान्ने काम जारी छ । हालसम्म करिब दुई किलोमिटर तार तानिसकिएको भण्डारीले बताए।
चरण(३ अन्तर्गत प्रसारण लाइन निर्माणको ठेक्का भारतको केइसी इन्टरनेशनलले पाएको छ । आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि यो प्रसारण लाइन निर्माण भइरहेको हो ।
आयोजना प्रमुख भण्डारीका अनुसार वन क्षेत्रमा प्रवेश तथा रुख कटानसम्बन्धी अनुमति प्राप्त भएपछि रोकिएका तथा प्रभावित काम अघि बढाउन सहज भएको छ । अहिले विभिन्न स्थानमा एकैसाथ टावर निर्माण, टावर खडा गर्ने र तार तान्ने कामलाई अघि बढाइएको छ ।
एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणसँगै उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न आवश्यक प्रसारण पूर्वाधार निर्माणलाई पनि आयोजनाले प्राथमिकतामा राखेको छ । दमौली-भरतपुर प्रसारण लाइन त्यसैको महत्त्वपूर्ण हिस्सा हो ।

प्रतिक्रिया