कोशीमा सम्भावना पर्याप्त भएकाले जुनसुकै क्षेत्रमा पनि लगानी गर्दा हुन्छः प्रधानमन्त्री ओली
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशको लगानी सम्मेलनबाट समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गरेका छन् ।
कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेश लगानी सम्मेलनको उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लगानी सम्मेलनबाट लगानीसम्बन्धी छलफल र नयाँ लगानी भित्रिने अपेक्षा राखिएको बताए ।
प्रधानमन्त्री ओलीले नेपालमा लगानीको अनुकूल वातावरण रहेको भन्दै लगानी गर्न सबैलाई आग्रह गरे । कोशी प्रदेशमा यातायात पूर्वाधार पर्याप्त रहेका कारण उद्योगबाट उत्पादित सामग्री बजारीकरणका लागि समस्या नरहेको प्रधानमन्त्री ओलीले बताए ।
हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग, मदन भण्डारी मार्गसहित पर्याप्त सडक सञ्जाल रहेका कारण बजारीकरण गर्न सहज हुने उनको भनाइ छ । उनले निजी क्षेत्रदेखि लिएर सबैलाई लगानीका लागि आह्वान गरेका छन् ।
ओलीले सम्भावना पर्याप्त भएकाले जुनसुकै क्षेत्रमा लगानी गर्दा पनि हुने बताए । हुलाकी राजमार्ग निर्माणको क्रममा रहेको भन्दै उनले अहिले लगानी गरेको उद्योगबाट उत्पादन सुरु हुँदा पूर्वपश्चिम मार्ग एसियन मापदण्डको बन्ने बताए ।
सडक पूर्वाधारले बजारीकरणका लागि सहज हुने बताउँदै ओलीले लगानीको उपयुक्त वातावरण रहेको स्पष्ट पारेका छन् । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन शुक्रबारसम्म चल्नेछ । सम्मेलनमा विभिन्न ८ वटा क्षेत्रका ७१ वटा परियोजनालाई ‘सोकेस’मा राखिएको छ ।