नागरिक लगानी कोष र काठमाडौँ विश्वविद्यालयबीच उपदान कोष सञ्चालन सम्झौता


काठमाडौँ ।  उपदान कोष व्यवस्थापन एवं सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच सम्झौता भएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा अच्युतप्रसाद वाग्लेसमेतको उपस्थितिमा आज भएको उक्त सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विश्वविद्यालयका तर्फबाट प्रा डा राजीव श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौतापश्चात् विश्वविद्यालयबाट वार्षिक रूपमा कोष कट्टा गरी प्राप्त भएको रकम सम्बन्धित शिक्षक तथा कर्मचारीको खातामा कोषले अद्यावधिक गर्नेछ ।

कोष ऐनअनुसार कोषमा योगदान गरेको रकमबाट आर्जन गरेको ब्याज तथा प्रतिफल शिक्षक तथा कर्मचारीको कोषमा रहेको खातामा जम्मा गर्ने लगायतका अतिरिक्त सुविधा कोषले उपलब्ध गराउनेछ ।

विश्वविद्यालयका स्थायी शिक्षक तथा कर्मचारीलाई कोषको नियमानुसार पाउने वा प्रदान गर्ने ऋण सापटी प्रदान गरिने कोषद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसैगरी विद्यालयको सिफारिसमा सेवानिवृत शिक्षक, कर्मचारीलाई उपदान रकम कोषले भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।