नागरिकमैत्री र पारदर्शी प्रहरी सेवा प्रवाहमा ध्यान दिन आईजीपी केसीको निर्देशन


काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीले नागरिकमैत्री, उत्तरदायी, पारदर्शी तथा प्रभावकारी प्रहरी सेवा प्रवाहमार्फत जनताको भरोसा अभिवृद्धि गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षक (एसपी) हरूलाई आईजीपी केसीले उपलब्धिपूर्ण र उत्कृष्ट कार्यसम्पादनका लागि निर्देशन दिएका हुन् ।

उनले आ–आफ्नो क्षेत्रका सम्भावित सुरक्षा चुनौती पहिचान र विश्लेषण गरी आवश्यकता अनुसार सुरक्षा योजना तथा रणनीति अवलम्बन गर्दै योजनाबद्ध रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताए ।

साइबर अपराध, सीमा अपराध, तस्करी नियन्त्रण, हातहतियार बरामद तथा फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राखेर व्यावसायिक, अनुशासित, निष्ठावान र इमानदार भएर काम गर्न उनले निर्देशन दिए ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अल्पसंख्यकप्रति थप संवेदनशील हुनुपर्ने उल्लेख गर्दै आईजीपी केसीले पीडितका गुनासो उचित रूपमा सम्बोधन गरी प्रहरी कार्यालयबाट प्रदान गरिने सेवाहरू सहज र सरल बनाउन जोड दिए ।

त्यसैगरी, आधारभूत तहका प्रहरी कर्मचारीहरूको गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्न, सामूहिक भावना र नवीन सोचका साथ जिम्मेवारी निर्वाह गर्न तथा कार्यालय व्यवस्थापनलाई उत्कृष्ट बनाउन उनले निर्देशन दिए ।

भिड नियन्त्रणका क्रममा बल प्रयोगको सिद्धान्त अवलम्बन गर्दै संवेदनशील रूपमा कार्य गर्नुपर्ने बताउँदै उनले आफ्नो क्षेत्रमा शान्ति सुव्यवस्था कायम राख्न तथा अपराध नियन्त्रण गर्न स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गर्न पनि आग्रह गरे ।

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।