काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन आयोजनाका कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा नियन्त्रणमा लिएर मानसिक यातना दिइएको र पर्याप्त कानुनी आधारबिना ठेक्का रद्द गरिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
सामाजिक संजालमार्फत आङ्देम्बेले प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने यातनागृह भन्दै प्रधानमन्त्रीसँग जवाफ मागेका छन् ।
उनका अनुसार यस विषयमा कांग्रेसको आह्वानमा गत कात्तिक १७ गते प्रतिपक्षी दलहरूको संयुक्त बैठक बसेको थियो । बैठकले संसद् र संसदीय समितिमा घटनाबारे छलफल गर्न माग गरेको थियो ।
सोही मागअनुसार मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठक बसेको र बैठकमा सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरूले सरकारको कार्यशैली, सार्वजनिक खरिद ऐनको उल्लङ्घन र राज्यशक्तिको दुरुपयोगबारे प्रश्न उठाएको उनले बताएका छन् । समितिले सरकारलाई सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।
आङ्देम्बेका अनुसार सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्कामा छवटा कम्पनीले बोलपत्र पेस गरेका थिए । तीमध्ये तीनवटा कम्पनी प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका थिए । आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक दबाब दिइएको र त्यसपछि ठेक्का रद्द गरिएको उनको आरोप छ ।
उनले सुनकोशी–मरिण डाइभर्सनलाई मधेसका पाँच जिल्लाका करिब एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ पुर्याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय गौरवको आयोजना भन्दै यसको काममा राजनीतिक तथा प्रशासनिक हस्तक्षेप हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । आयोजनाको १३.३ किलोमिटर सुरुङको ब्रेक थ्रु भइसकेको पनि उनले उल्लेख गरेका छन् ।
आङ्देम्बेले कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय गराउन कसले निर्देशन दिएको, ठेक्का रद्द गर्नुको कानुनी आधार के रहेको र त्यसबाट राज्यलाई हुने आर्थिक क्षतिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाएका छन् ।
ठेक्का रद्द गर्ने अधिकार सरकारसँग भए पनि कानुन उल्लङ्घन गर्ने अधिकार नभएको उल्लेख गर्दै उनले प्रधानमन्त्री कार्यालयको भूमिका र निर्णय प्रक्रियाबारे स्वतन्त्र तथा निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
मधेसको विकासलाई राजनीतिक प्रतिशोधको बन्धक बनाउन नहुने भन्दै उनले यस प्रकरणमा सरकार जवाफदेही हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया