पशुपतिनगरबाट १६ लाख ५३ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद


इलाम । इलामको पशुपतिनगरस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि मंसिर ९ गतेसम्म १६ लाख ५३ हजार २५० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले सूर्योदय नगरपालिकाका सातवटा छुट्टाछुट्टै स्थानमा कारबाही गर्दै अवैध चोरी पैठारी तथा निकासी गरिएका सामान बरामद गरेको हो ।

बरामद सामानमा १७८ कार्टुन अर्थात् ३ हजार ५६० किलो स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ, जुत्ता–चप्पल, ५७० किलो फर्सीको बियाँलगायत विभिन्न सामान तथा चौपाया रहेका छन् ।

सूर्योदय नगरपालिकाअन्तर्गत मानेभञ्ज्याङ, चारमाइल, नाकापानी सीमा इलाका तथा खोलागोदाम क्षेत्रबाट सशस्त्र प्रहरी बलका बीओपी मानेभञ्ज्याङ र बीओपी छब्बिसेको संयुक्त टोलीले उक्त सामान बरामद गरेको गुल्मले जनाएको छ ।

सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले निरन्तर गस्ती, पेट्रोलिङ तथा निगरानी गर्दै आएको छ ।