स्वास्थ्य बीमाका लागि डिजिटल कार्डबाट पनि सेवा पाइने


काठमाडौं । स्वास्थ्य बीमा परिचयपत्रको भौतिकप्रति साथमा नभए पनि डिजिटल कार्ड वा कार्डको स्पष्ट फोटोकपी देखाएर स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा लिन पाइने भएको छ ।

स्वास्थ्य बीमा बोर्डले बुधबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र जारी गरी भौतिक कार्ड, डिजिटल कार्ड वा विवरण स्पष्ट देखिने फोटोकपीका आधारमा पनि बीमितलाई सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।

बोर्डले बीमितले यीमध्ये कुनै माध्यमबाट स्वास्थ्य बीमा परिचयपत्र प्रस्तुत गरेमा कार्डमा उल्लेखित बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी सम्बन्धित व्यक्ति बीमित भए÷नभएको यकिन गरेर स्वास्थ्य बीमाअन्तर्गत सेवा प्रवाह गर्न अनुरोध गरेको छ ।

बोर्डले स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति साथमा नभएको कारणले मात्र बीमितलाई स्वास्थ्य बीमाअन्तर्गत प्राप्त हुने सेवाबाट वञ्चित नगर्न स्पष्ट निर्देशन दिएको छ ।

बोर्डका प्रवक्ता तथा वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार साहद्वारा जारी सूचनामा सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई उक्त व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।