जेन्सन हुआङमाथि अनुसन्धानबारे अमेरिकी महान्यायाधिवक्ताको अस्पष्ट जवाफ


वासिङ्टन । अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चेले चिप निर्माता कम्पनी एनभिडिया  लाई ‘असल कर्पोरेट नागरिक’ भन्दै प्रशंसा गरेका छन् । तर कम्पनी वा यसको प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङमाथि संघीय अनुसन्धान भइरहेको छ कि छैन भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिन अस्वीकार गरेका छन् ।

मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ब्लान्चेले एनभिडियाका सीईओ हुआङको सुरक्षा अनुमतिसम्बन्धी अवस्थाबारे आफूलाई जानकारी नभएको बताए । राष्ट्रपति डोनाल्ड ट्रम्पले हुआङलाई पुनः कम्पनीको नेतृत्वमा फर्काउन भूमिका खेलेको विषयमा अमेरिकी सांसदहरूले जवाफ मागिरहेका बेला ब्लान्चेको यस्तो प्रतिक्रिया आएको हो ।

विवाहेतर सम्बन्धसम्बन्धी खुलासासहित चीनसँग जोडिएको जासुसी आशंकाको विषय सार्वजनिक भएपछि हुआङले पदबाट राजीनामा दिएका थिए । तर राजीनामा दिएको दुई साताभन्दा कम समयमै उनलाई पुनः सीईओमा नियुक्त गरिएको थियो ।

मंगलबार पत्रकारहरूले अमेरिकी न्याय विभाग वा संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले हुआङमाथि अनुसन्धान गरेको हो कि होइन भनेर पटक–पटक सोध्दा ब्लान्चेले ‘तपाईंले के कुरा गरिरहनुभएको छ, मलाई थाहा छैन’ भन्दै प्रश्न टारे ।

हुआङ आगामी साता अमेरिकी कांग्रेससमक्ष उपस्थित हुने कार्यक्रम छ । त्यहाँ चीनसँग जासुसी सम्बन्ध रहेको आरोप लागेकी सिंगापुरस्थित कम्पनी मेगास्पिडका प्रमुखसँग उनको सम्बन्ध तथा राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताबारे सांसदहरूले प्रश्न गर्ने अपेक्षा गरिएको छ । मेगास्पिड निभिडियाको एक कर्पोरेट ग्राहक कम्पनी हो ।

अमेरिकी वाणिज्य विभागले मेगास्पिडलाई प्रतिबन्धित सूचीमा राख्ने तयारी गरेको पनि जनाएको छ । उक्त कम्पनीले उन्नत प्रविधिका चिप चीनतर्फ अवैध रूपमा पठाउन सहयोग गरेको आशंका गरिएको छ ।

गत साता अमेरिकी न्याय विभाग र वाणिज्य विभागले संयुक्त वक्तव्य जारी गर्दै मेगास्पिडमाथि सन् २०२४ देखि निर्यात नियन्त्रणसम्बन्धी सम्भावित उल्लङ्घनको अनुसन्धान सुरु गरिएको बताएका थिए ।

तर मंगलबार ब्लान्चेले न्याय विभागमा एकै समयमा सयौँ वा त्योभन्दा बढी निर्यातसम्बन्धी अनुसन्धान चलिरहेको भन्दै मेगास्पिडमाथिको अनुसन्धानबारे प्रश्न गर्दा आफूलाई स्पष्ट जानकारी नभएको प्रतिक्रिया दिए ।

एनभिडिया वा हुआङले चीनतर्फ चिप अवैध रूपमा पठाइएको विषयबारे जानकारी राखेका थिए कि थिएनन् र अनुसन्धानमा सहयोग गरेका छन् कि छैनन् भन्ने प्रश्नमा ब्लान्चेले निभिडियालाई खराब कम्पनीका रूपमा प्रस्तुत गर्ने कुनै आधार आफूले नदेखेको बताए ।

‘एनभिडिया असल कर्पोरेट नागरिकबाहेक अरू केही हो भन्ने कुरा यहाँ उभिएर भन्नुपर्ने कुनै कारण मसँग छैन,’ उनले भने । उनले एनभिडिया आपराधिक अनुसन्धानको लक्ष्य बनेको वा अनुसन्धानमा अवरोध गरेको भए राष्ट्रपति ट्रम्पले अमेरिकी जनतालाई दिएको सन्देश फरक हुने र आफूले पनि कम्पनीबारे त्यस्तो धारणा व्यक्त नगर्ने बताए ।

हुआङको पुनर्नियुक्तिको घोषणापछि एनभिडियाको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको थियो । सोमबार उनको पुनरागमनको खबरपछि कम्पनीको शेयर मूल्य ३१ प्रतिशतभन्दा बढी उकालो लागेको थियो । तर मंगलबार बजारमा उतारचढावबीच कम्पनीको शेयर मूल्य करिब ६ प्रतिशत घटेर बन्द भएको छ । यद्यपि, यो गत साताको अन्तिम कारोबारभन्दा माथि नै रहेको थियो ।

एनभिडियाको सञ्चालक समितिले सोमबार अप्रत्याशित रूपमा हुआङलाई पुनः सीईओ नियुक्त गरेको थियो । सञ्चालक समितिका अध्यक्ष हार्भे जोन्सले हुआङको पुनरागमन कम्पनीका शेयरधनी, कर्मचारी, साझेदार र ग्राहकहरूको हितमा रहेको बताएका छन् ।