काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले आफ्नो एक साता लामो औपचारिक भारत भ्रमण अत्यन्तै फलदायी र ऐतिहासिक भएको बताएका छन् ।
भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत भ्रमणका उपलब्धि सार्वजनिक गर्दै उनले नेपाल–भारत साझेदारीले नयाँ र सकारात्मक दिशा लिएको उल्लेख गरेका हुन् ।
भारतीय संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतको निमन्त्रणामा प्रथम ‘एससिओ सिभिलाइजेसनल डाइलग फोरम’ मा सहभागी हुन मन्त्री पौडेल भारत गएका थिए । सोही अवसरमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको आयोजनामा ‘नेपाल कलिङ’ विशेष कार्यक्रम समेत सम्पन्न भएको छ । उक्त कार्यक्रममा भारतीय संस्कृति मन्त्री शेखावत र उत्तराखण्डका पर्यटन मन्त्री सतपाल महाराजको उपस्थिति रहेको थियो ।
भ्रमणका क्रममा एससीओ फोरममा सहभागी मित्र राष्ट्रका समकक्षीहरूसँग पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानका सम्भावनाबारे गहन छलफल भएको मन्त्री पौडेलले जानकारी दिएका छन् । हिमाली सभ्यता, संस्कृति र पर्यावरण संरक्षणमा नेपालले लिइरहेको वैश्विक नेतृत्वमा अन्तर्राष्ट्रिय समर्थन र सहकार्यका लागि आग्रह गरिएको उनले बताए । ‘हिमाल अब नेपालको मात्र नभई समग्र विश्वकै क्लाइमेट हेरिटेज हो भन्ने विषयमा सहभागी राष्ट्रहरूलाई आश्वस्त पार्न सफल भएका छौँ,’ उनले भने ।
यसैगरी, मन्त्री पौडेलले भारतीय समकक्षी तथा नागरिक उड्डयन मन्त्री किन्जारापु राममोहन नायडूसँग द्विपक्षीय भेटवार्ता गरी नेपाल–भारत हवाई क्षेत्रका विद्यमान समस्या र सम्भावनाबारे सार्थक संवाद गरेका छन् । दुवै देशका प्रधानमन्त्रीस्तरीय भेटवार्ता अगावै उड्डयन क्षेत्रका आपसी विषयहरूलाई निष्कर्षमा पुर्याउन साझा पहल गरिएको उनको भनाइ छ । भारतीय मन्त्री नायडूमा रहेको युवा ऊर्जा, शालीनता र दूरदर्शी सोचबाट आफू निकै प्रभावित भएको उनले उल्लेख गरेका छन् ।
भ्रमणकै क्रममा भारतीय संस्कृति मन्त्री शेखावतको साथमा १८ वटै पर्व र ६८ वटा लघुचित्र समेटिएको ७२ मिटर लामो दुर्लभ हस्तलिखित महाभारत ग्रन्थको अवलोकन गरेको मन्त्री पौडेलले बताएका छन् । सोही अवसरमा भगवान् गौतम बुद्धका पवित्र अस्थि अवशेषको दर्शन गर्न पाउनु भ्रमणको अविस्मरणीय र अमूल्य उपलब्धि रहेको उनको भनाइ छ । भारतबाट बेलायत हुँदै हङकङमा लिलामीका लागि पुर्याइएको बुद्धको पवित्र अवशेषलाई स्वदेश फर्काउन भारतीय मन्त्री शेखावतले गरेको प्रयास निकै रोमाञ्चक रहेको उनले स्मरण गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको राजकीय भारत भ्रमणलाई थप स्मरणीय र फलदायी बनाउन सहकार्य गर्ने अवसर पाएको उल्लेख गर्दै मन्त्री पौडेलले शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचको साझा विकास दृष्टिकोण, सहज संवाद र आत्मीयता अत्यन्तै उल्लेखनीय रहेको बताए । शीर्ष नेतृत्वबिचको सुमधुर सम्बन्ध र विकासका साझा परिकल्पनाबिचको सामञ्जस्यले दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बलियो आधार तयार पारेको उनको विश्वास छ ।
तिहासमा नेपालको लोकतन्त्र स्थापना र भारतको स्वतन्त्रताका लागि पुर्खाहरूले देखाएको ऐतिहासिक ऐक्यबद्धतालाई आजको समयमा ‘साझा समृद्धिको साझेदारी’ मा रूपान्तरण गर्ने बेला आएको मन्त्री पौडेलले बताएका छन् । ‘भारतको समृद्धि बिना नेपालको एकल र दिगो समृद्धि सहज छैन । त्यसैले हामी भारतको तीव्र आर्थिक प्रगतिमा केवल हिस्सेदारी मात्र खोजिरहेका छैनौँ, बरु त्यसमा रचनात्मक योगदान पुर्याउन पनि चाहन्छौँ,’ उनले भनेका छन् । भारतको विकासमा नेपालको योगदान र नेपालको समृद्धिमा भारतको सहकार्य दुवै देशका साझा आकांक्षा रहेको उनले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया