प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशको सम्बन्ध सकारात्मक लयमा फर्काउन सहयोग पुग्योः परराष्ट्रमन्त्री खनाल


काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन साहको भारत भ्रमणपछि नेपाल–भारतबीचको सम्बन्ध लयमा फर्किएको दाबी गरेको छ ।

प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ सरकार गठनपछि प्रधानमन्त्रीको पहिलो औपचारिक विदेश भ्रमणबाट नेपाल भारतको सम्बन्ध सकारात्मक लयमा फर्काउन सहयोग पुगेको बताएका हुन् । उनले भने, ‘नेपाल भारत सम्बन्धलाई संभावनायुक्त सकारात्मक लयमा फर्काउन भ्रमण फलदायी बन्यो ।’

खनालले दुवै प्रधानमन्त्रीले अघि सारेको विकसित भारत समुन्नत नेपाल दुरदृष्टि दस्ताबेजले नेपालको ऊर्जा, कनेक्टिभिटी लगायतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए ।

दस्तावेजले पुराना सन्धिहरूको पुनरावलोकनको बाटो समेत खोलिदिएको उनले बताए । उनले दुई मुलुकका प्रधानमन्त्रीबीचको छलफल आपसी सहयोगात्मक सम्बन्धलाई थप फलदायी बनाउने विषयमा केन्द्रित रहेको बताए ।