कानुनी आधारबिना नियन्त्रणमा राखिएका पत्रकारलाई रिहा गर्न प्रेस काउन्सिलको माग


काठमाडौं । सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ ।

शुक्रबार कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा सादा पोशाकका प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलले जनाएको छ ।

काउन्सिलले पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको र अपराधसम्बन्धी जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिइनु आपत्तिजनक भएको उल्लेख गरेको छ ।

प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाबारे काउन्सिलले समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरीको छानबिन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिलकै रहेको स्मरण गराएको छ ।
समाचारकै विषयमा सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियामार्फत समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित पक्षलाई काउन्सिलले आग्रह गरेको छ ।

त्यस्तै, नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न पनि माग गरेको छ ।

काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ । साथै, प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवद्र्धनमा आफू प्रतिबद्ध रहेको जनाएको छ ।