चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस दुर्घटना


चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा ट्रक, बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।

बिहान ८ः४५ बजे सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंको मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनापछि घाइतेहरूलाई स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । दुर्घटनाका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।