धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढिसकेको बताएकी छन् ।
आइतबार ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत निरीक्षण गर्दै मन्त्री मेहताले टेन्डरसम्बन्धी कागजात स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको जानकारी दिइन् । उनले प्रक्रिया पूरा भएपछि टेन्डर आह्वान हुने र त्यसपछि निर्माणको काम अघि बढ्ने बताइन् ।
‘ट्रमा सेन्टर बन्छ कि बन्दैन भन्ने अन्योल अब राख्नुपर्दैन। यो आयोजना सरकारको बहुवर्षीय योजनामा समावेश भइसकेको छ’, मन्त्री मेहताले भनिन् । उनले निर्माणस्थलको निरीक्षणबाट आवश्यक तयारी उपयुक्त देखिएको उल्लेख गर्दै छिट्टै शिलान्यास हुने विश्वास व्यक्त गरिन् ।
स्थानीयवासीले लामो समयदेखि ट्रमा सेन्टर निर्माणको आश्वासन पाउँदै आए पनि काम सुरु नभएकाले आयोजना कार्यान्वयनप्रति आशंका व्यक्त गर्दै आएका छन् ।
निरीक्षणका क्रममा प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले भवन निर्माणको काम सुरु भएपछि मात्रै स्थानीयवासी विश्वस्त हुने बताए । उनले आश्वासनभन्दा निर्माण कार्यको सुरुआत महत्त्वपूर्ण रहेको उल्लेख गर्दै शिलान्यासको प्रक्रिया छिटो अघि बढाउन मन्त्रीको ध्यानाकर्षण गराए ।
‘ट्रमा सेन्टरका नाममा यहाँका नागरिक लामो समयदेखि आश्वासन पाउँदै आएका छन्। अब आश्वासनले मात्र चित्त बुझाउने अवस्था छैन । भवन निर्माण सुरु भएपछि मात्रै विश्वास जाग्छ’, उनले भनिन् ।

प्रतिक्रिया