कर्मचारीलाई सवारी सुविधा दिने निर्देशिकामाथि प्रश्नैप्रश्न


देवेन्द्रराज ढकाल ।
सरकारले कर्मचारीलाई सवारी सुविधा उपलब्ध गराउने संबन्धमा निर्देशिका ल्याउदै छ रे/ल्याइसक्यो रे भन्ने हल्ला व्यापक छ । कर्मचारीहरुलाई दर्जा हेरी विभिन्न दरमा सवारी साधन खरिदका लागि निब्र्याजी ऋण दिने कुरा उक्त निर्देशिकामा छ रे । अहिले सवारी साधन र ड्राइभरको सुविधा पाइरहेका सहसचिव वा सो भन्दा माथिल्लो तहका कर्मचारीले ड्राइभरको तलव समेत गाभेर सुविधामा पाउने रे। यी दुई बिषय अहिले मुख्य रुपमा चर्चामा छन्।

समर्थक (लाभग्राही कर्माचारी) मौन छन्, खुसी पनि होलान् । केही बिरोधका स्वरहरु बाहिर सुनिएका छन् । यसबारेमा धेरै जानकारी नराख्नेहरुका मनमा यो निर्देशिकाले कस्तो परिणाम ल्याउला भन्ने जिज्ञासा जागेको हुन सक्छ। अरु दुरगामी परिणाम के आउला भनेर अहिले नै अनुमान नगरौँ। तर तत्काल पक्कै हुने कुरा बुँदामा बुझौँ ।

१) सुविधा पाउने सबै कर्मचारीहरु नयाँ गाडीबारे बुझ्न र खरिद गर्न सपरिवार गाडीका सोरुम भिजिट गर्न थाल्नेछन् ।

२) गाडीका बिक्रेताहरु नयाँ स्किम लिएर विभिन्न कार्यालय धाउने क्रम पनि शुरु हुनेछ ।

३) केही समयका लागि ड्राइभिङ्ग इन्स्टिच्युटहरुको ब्यबसायमा पनि उत्साह आउने छ ।

४) सडकमा सिकारु वा नयाँ ड्राभरहरुको संख्या ह्वात्तै बढ्ने छ। त्यही अनुपातमा सवारी यातायात सम्बन्धी समस्या पनि थपिन सक्छन् ।

५) अहिले सरकारी सवारी साधन लिइरहेका कर्मचारीहरुले प्रयोग गरिरहेका सवारी साधनहरु केही समय प्रयोगविहीन हुनेछन् । केही समय पछि सवारी साधन खरिदका लागि निब्र्याजे ऋणको सुविधा पाउनेभन्दा तल्लो दर्जाका कर्मचारीले ती गाडीहरुको प्रयोग गर्न थाल्नेछन् । अहिले सवारी साधनको सुविधा नपाएका राजनैतिक नियुक्तिवाला पदाधिकारीका आसेपासेहरुले पनि ती गाडीमा आँखा लगाउनेछन् ।

६) निर्देशिका बमोजिम खरिद गरिएका कर्मचारीका निजी सवारी साधनको प्रयोग उनीहरुका परिवारका सदस्य समेतले गर्नेछन् र कर्मचारी लिफ्ट मागेर वा भाडाका सवारी चढेर कार्यालय आउने क्रम पनि देखिने छ।

७) भइरहेका करारका ड्राइभरहरु जिम्मेवारीविहीन हुनेछन्। सरकारले ती ड्राइभारलाई हटाउने असफल प्रयास गर्न लाग्ने छ।
पहिले पनि विशिष्ट श्रेणी वा सो भन्दा माथिका पदाधिकारीहरुलाई गाडी खरिदमा भन्सार छुट दिइएको इतिहास छ । महंगा जापानीज गाडी खरिद गरेका त्यसबेलाका पदाधिकारीहरु विभिन्न आर्थिक वर्गका थिए । जो धनी थिए तिनले सुबिधा लिए भोग गरे ।

अलि गरिब तर चलखेल चाहिँ महंगो गाडी किने, त्यो अरुलाई चलाउन दिए र त्यसको बदलामा सस्तो गाडी सित्तैमा मिलाए अनि चढे । अलि चालुहरुले ऋण लिएर गाडी किने घुस खाएर तिरे अनि मोज गरे। ग्वाँजेहरुमध्ये केहीले गाडी किन्न ब्यापारीलाई सही गरिदिए र केही रकम हात लागाए अनि आफू पैदल कार्यालय गए। केहिले भने गाडी किनेर होटल आदिलाई भाडामा दिए अनि आफू पैदल सवारी भए । अरुले आलोचना गर्दा सबैले ङिच्च हाँसे,लाज पचाए । यो सब बीसौँ शताब्दीको कुरा थियो । अहिले एक्काइसौँ शताब्दी चलिरहेको छ।