आईसीसी र क्यानको संयुक्त आयोजनामा नेपालमा एसिया सम्मेलन हुने


काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) को संयुक्त आयोजनामा आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आईसीसी एसिया सम्मेलन हुने भएको छ।

सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त तथा एसोसिएट सदस्य राष्ट्रका प्रतिनिधिका साथै अन्तर्राष्ट्रिय क्रिकेट समुदायका प्रतिनिधिहरू सहभागी हुनेछन्।

सम्मेलनमा क्रिकेटको विकास, क्षेत्रीय सहकार्य विस्तार तथा एसियाली क्रिकेटको प्रवद्र्धनका विषयमा छलफल हुने जनाइएको छ।

नेपालमा सम्मेलन आयोजना हुनु नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। यसले अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपालको उपस्थिति थप सुदृढ बनाउनुका साथै खेल पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्मेलनमा सहभागी प्रतिनिधिहरूले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल) को तेस्रो संस्करणअन्तर्गत एलिमिनेटर र फाइनल खेलसमेत अवलोकन गर्नेछन्।