-गुरुराज घिमिरे
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा मलाई विश्वास गरी आफ्नो अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण आदरणीय महाधिवेशन प्रतिनिधिज्यूहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। यहाँहरूले प्रदान गर्नुभएको १,५१३ मत मेरा लागि सङ्ख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको ठूलो प्रेरणा हो। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति तथा विभिन्न पदाधिकारीमा निर्वाचित हुनुभएका सम्पूर्ण साथीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
यस कार्यकालमा पार्टी र देशसामु उपस्थित चुनौतीहरूको सामना गर्न सक्ने आन्तरिक सामथ्र्य वृद्धि गर्न, सम्पूर्ण साथीहरूबीच हार्दिकता र एकता अभिवृद्धि गर्न, मूल्याङ्कन पद्धति तथा निर्णय प्रक्रियालाई वस्तुनिष्ठ र पारदर्शी बनाई पार्टीलाई विधिसम्मत रूपमा सञ्चालन गर्न तथा आगामी दुवै तहका निर्वाचनमा विजय हासिल गर्न अभूतपूर्व सफलता प्राप्त हुनेछ भन्ने अपेक्षा र विश्वास गर्दछु।
लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया हो। म यस परिणामबाट विचलित नभई नयाँ शिराबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु। अबको राजनीति फरक सोच, फरक शैली र फरक संस्कारसहित अघि बढ्नेछ—जहाँ निष्ठा, विचार, संवाद, इमानदारी र पार्टी रूपान्तरण प्रमुख आधार हुनेछन्।
यो अन्त्य होइन, नयाँ सुरुवात हो। यहाँहरूको विश्वासलाई शिरोपर गर्दै नेपाली कांग्रेसलाई थप गतिशील, लोकतान्त्रिक र जनउत्तरदायी बनाउने अभियानमा निरन्तर क्रियाशील रहनेछु । यहाँहरूको माया, विश्वास र साथप्रति पुनः हार्दिक धन्यवाद!

प्रतिक्रिया