दमौली । यही असोज ९, १० र ११ गते वर्षासँगै आएको बाढीले तनहुँको घिरिङ गाउँपालिका–४ करूवाटार मौतिघाट र नवलपुरको बौदीकाली गाउँपालिका–१ मचेडी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेपछि स्थानीयको आवतजावत ठप्प भएको छ ।
अविरल वर्षा र बाढीका कारण पुलमा क्षति भएपछि करूवाटार, बटौलिटारलगायत क्षेत्रका स्थानीयलाई नदी वारपार गर्न समस्या भएको हो । पुल अवरुद्ध हुँदा सबैभन्दा ठूलो असर विद्यार्थीमा परेको छ । करूवाटार र बटौलिटार क्षेत्रबाट नदी पारी रहेको बौदीकाली–१ मचेडीस्थित धर्मात्मा माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने करिब १५ देखि २० जना विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् ।
दैनिक विद्यालय आवतजावतका लागि यही पुल प्रयोग गर्दै आएका विद्यार्थी अहिले बाटो बन्द भएपछि घरमै बस्न बाध्य भएका छन् । नदीमा पानीको बहाव उच्च रहेकाले जोखिम मोलेर नदी तर्न सक्ने अवस्था नरहेको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष भीमबहादुर कुमालले बताए ।
पुल नहुँदा विद्यार्थी मात्र नभई स्थानीय बासिन्दा तथा दैनिक आवतजावत गर्ने पैदलयात्रीसमेत प्रभावित भएको उनले बताए । “पुलमा क्षति पुगेपछि विद्यार्थीलाई विद्यालय जानसमेत समस्या भएको छ । नदीको बहाव उच्च भएकाले वैकल्पिक रूपमा नदी तरेर जान सक्ने अवस्था छैन,” वडाध्यक्ष कुमालले भने ।
पुल अवरुद्ध हुँदा बालबालिकाको पढाइ प्रभावित हुनुका साथै स्थानीयको दैनिक जीवनसमेत कष्टकर बनेको भन्दै स्थानीयले यथाशीघ्र पुल मर्मत गर्न वा तत्काल वैकल्पिक आवतजावतको व्यवस्था मिलाउन माग गरेका छन् ।

प्रतिक्रिया