सोमबारदेखि सस्तो र कम स्पिडका इन्टरनेट प्याकेज बन्द हुने


काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूले सस्तो मूल्यमा उपलब्ध गराउँदै आएका कम स्पिडका इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरेका छन्। इन्टरनेट सेवा प्रदायकहरूको तर्फबाट शुक्रबार अध्यक्ष सुधीर पराजुलीले विज्ञप्ति जारी गरी असोज १९ गते सोमबारदेखि यस्ता प्याकेज उपलब्ध गराउन नसकिने जनाइएको हो ।

सेवा सञ्चालनको लागत बढ्दै गएको भन्दै आइएसपीहरूले प्याकेज बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन् । पछिल्ला वर्षमा भएको मूल्यवृद्धि, इन्धनको बढ्दो मूल्य, फाइबरको मूल्य वृद्धि, उच्च मुद्रास्फीति तथा एआई प्रविधिको तीव्र विस्तारसँगै इलेक्ट्रोनिक्स र चिपसेटको मूल्य बढ्दा सञ्चालन खर्च धान्न कठिन भएको उनीहरूको भनाइ छ।

विज्ञप्तिमा कोरोना महामारीदेखि भोटेकोसी बाढीसम्मका विषम परिस्थितिमा समेत इन्टरनेट सेवा प्रदायकहरूले निरन्तर सेवा दिँदै आएको उल्लेख छ।

नेपालमा फिक्स्ड ब्रोडब्यान्डको पहुँच र घनत्व दक्षिण एसियामै उच्च रहेको दाबी गर्दै आइएसपीहरूले सुपथ मूल्यमा इन्टरनेट सेवा विस्तारमा आफ्नो महत्वपूर्ण योगदान रहेको बताएका छन्।

उनीहरूले नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेट आफ्नो वेबसाइटमा स्पष्ट रूपमा राख्न सबै आइएसपीलाई आग्रह गरेका छन्। ग्राहकलाई अनिवार्य रूपमा भ्याट बिल लिनसमेत अनुरोध गरिएको छ।