तुलसीपुर । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको आयुर्वेद शिक्षण अस्पतालको (बहिरङ विभाग) ओपिडी सेवा पुनः सञ्चालनमा आएको छ ।
कोरोना महामारीका बेला उक्त विभाग बन्द भएको थियो । ओपिडी बन्द हुँदा केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेदमा स्नातक (बिएएमएस) अध्ययनरत विद्यार्थी प्रयोगात्मक अभ्यासका लागि अन्य अस्पतालमा जानुपर्ने बाध्यता थियो । अब त्यो अवस्थाको अन्त्य भएको विद्यापीठका प्राचार्य मङ्गलाकान्त झाले बताए ।
उनकाअनुसार विद्यार्थी प्रयोगात्मक अभ्यासका लागि प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती आँखा अस्पताल रक्षाचौरसहित अन्य बाहिरी जिल्लामा जानुपर्ने अवस्था थियो ।
शिक्षण अस्पतालमै प्रयोगात्मक अभ्यास हुने उनले बताए । ‘ओपिडी बन्द हुँदा हामीले विद्यार्थीलाई इन्टर्नसीपका लागि बाहिर पठाउनु पथ्र्यो’, उनले भने, ‘अब त्यो समस्या हट्ने भयो ।’
ओपिडी सेवा सञ्चालनमा आएपछि विश्वविद्यालयलाई थप उपचारमा नेपाल संस्कृत विश्वविद्यालयले सहयोग गर्नेभएको छ ।
शिक्षाध्यक्ष प्रा डा जगन्नाथ रेग्मीले विश्वसमुदाय संस्कृत भाषा, आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सातर्फ आकर्षित भइरहेको बताए ।
विद्यापीठमा २०० विद्यार्थी अध्ययनरत छन् । हालसम्म २३३ जना विद्यार्थी उत्तीर्ण भइसकेका छन् । जसमध्ये २१५ जनाले चिकित्सकको सेवा गरिरहेका छन् ।
शिक्षण अस्पतालमा चिकित्सा, शल्य तन्त्र, शालाक्य तन्त्र, स्त्री तथा प्रसूति पञ्चकर्म सेवा, बालरोग सेवा, प्याथोलोजी तथा मानसरोग सेवा सञ्चालनमा छन् । केही समयपछि बिरामी भर्ना सेवा तथा स्वर्णबिन्दू प्रासन सेवा पनि सञ्चालन गर्नेगरी योजना बनाएको प्राचार्य झाले बताए ।

प्रतिक्रिया