काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको हितका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको स्पष्ट पारेका छन् ।
उनले अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा भएको ८१औँ महासभाले नेपालको कूटनीतिक छविलाई उच्च बनाउने काम गरेको र नेपालको प्रस्तावप्रति विश्व समुदाय सकारात्मक रहेको स्पष्ट पारेका हुन् ।
महासभाको बैठकमा सहभागिता जनाएर बुधबार नेपाल फर्किंंएका परराष्ट्रमन्त्री खनालले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भने,‘संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ सत्रको क्रममा सम्माननीय प्रधानमन्त्री बालेन साहज्यूले महासभामा गर्नुभएको सम्बोधन र मैले विभिन्न बहुपक्षीय बैठकमा गरेको सहभागिता र छलफलबाट एकातर्फ नेपालको कूटनीतिक छवि उच्च भएको छ भने अर्कोतर्फ नेपालको प्रस्तावप्रति विश्व समुदाय सकारात्मक रहेको मैले पाएको छु।’
उनले विभिन्न ३३ भन्दा बढी द्विपक्षीय भेटवार्ताहरूबाट ती मुलुकहरूसँग नेपालको सम्बन्धलाई थप मजबुत बनाउने दिशामा प्रगति भएको पनि बताए । आगामी दिनमा नेपालको कूटनीतिलाई थप सशक्त बनाई राष्ट्रहित प्रवद्र्धनमा ठोस योगदान पुर्याउन स्पष्ट आधारहरू तय भएको आफूले विश्वास लिएको उनले बताए ।
परराष्ट्रमन्त्री खनालले जलवायु न्यायसहितका मुद्दाहरू नेपालले विश्वसामु बलियोसँग उठाएको बताए । भोटेकोसीको विनाशकारी बाढी तथा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा नेपालले महासभाका दौरान आफ्नो धारणा स्पष्ट र दरिलो रूपमा राखेको थियो।
परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीले सम्बोधनका क्रममा जलवायु परिवर्तन तथा यसले नेपाल र नेपालजस्ता प्रभावित मुलुकहरूलाई पारेको असरका बारेमा स्पष्टसँग राखेको बताए । उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले महासभामा सम्बोधन गर्नुभन्दा अघि पनि देशभित्र र बाहिर उत्तिकै चासो थियो। उहाँले सम्बोधन गरेपछि पनि त्यसप्रति विश्वको चासो रहेको स्पष्ट देखियो। अहिले राष्ट्रसंघमा यस पटक गरिएका सम्बोधनहरूमध्ये सबैभन्दा बढी हेरिनेमा पनि परेको छ।’
परराष्ट्रमन्त्री खनालले नेपालको अवस्था र जलवायु परिवर्तनले पारेको असरका बारेमा प्रधानमन्त्रीले सम्बोधनका क्रममा र आफूले अन्य विभिन्न फोरमहरू र भेटवार्तामा स्पष्टसँग धारणा राखेको बताए । उनले भने, ‘हामीले महासभामा सहभागिताका दौरान नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरेर फर्केका छौँ।’

प्रतिक्रिया