युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत


तनहुँ।लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण एकाएक उल्लासमय बन्छ । परम्परागत वेशभूषा, बाजागाजा र नृत्यको तालमेलले पुस्तौँदेखि चलिआएको नेवा समुदायको सांस्कृतिक विरासतलाई जीवन्त बनाइदिन्छ।

व्यास नगरपालिकाका विभिन्न टोलमा देखिने लाखे नाचको विशेषता केवल परम्परागत नृत्यको प्रस्तुति मात्र होइन, यसमा नयाँ पुस्ताको बढ्दो सहभागिता र अग्रजबाट युवामा भइरहेको सांस्कृतिक पुस्तान्तरण पनि हो।

नेवा समुदायको मौलिक संस्कृति र परम्पराको महत्वपूर्ण हिस्सा मानिने लाखे नाच संरक्षणमा व्यासका युवायुवती सक्रिय भएका छन् । नेवाः तजिलजि पुचःमा आबद्ध युवाले अग्रज पुस्ताबाट लाखे नाचका चाल, हाउभाउ, ताल र प्रस्तुतीकरण सिकेर आफैँ प्रदर्शन गर्न थालेका छन्।

पहिले अग्रज पुस्ताले मात्र सम्हाल्दै आएको सांस्कृतिक जिम्मेवारी अहिले युवाको काँधमा आउन थालेको छ । यही कारण लाखे नाच अहिले केवल एउटा पर्व विशेषको प्रस्तुति नभई एक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गरिरहेको जीवित सांस्कृतिक पाठशाला जस्तो बनेको छ।

नेवाः तजिलजि पुचःका अध्यक्ष सन्देशनारायण श्रेष्ठका अनुसार युवापुस्तामा पछिल्लो समय आफ्नो भाषा, संस्कृति र परम्पराप्रति चासो बढ्दै गएको छ । अग्रज पुस्ताबाट सिकेको सीपलाई युवाले आत्मसात् गर्दै आफूपछिको पुस्तालाई सिकाउन थालेपछि संस्कृति संरक्षणको अभियान अझ बलियो बनेको उनको भनाइ छ ।

‘लाखे नाच हाम्रो संस्कार र संस्कृतिसँग जोडिएको परम्परा हो । यसको संरक्षणका लागि नयाँ पुस्तालाई सहभागी गराउँदै आएका छौँ,’ उनले भने, ‘अग्रजबाट सिकेको सीप युवाले सिक्दै र सिकाउँदै गए भने मात्रै मौलिक परम्परालाई पुस्तौँसम्म निरन्तरता दिन सकिन्छ ।’

लाखे नाचको संरक्षणका लागि पुचःले हरेक वर्ष प्रदर्शन गर्दै आएको छ । प्रदर्शनका क्रममा युवालाई प्रत्यक्ष सहभागी गराउने मात्र होइन, नियमित अभ्यास र प्रशिक्षण दिइँदै आएको छ।

नाचका विभिन्न चाल, हाउभाउ, ताल तथा प्रस्तुतीकरणसँगै परम्परागत बाजागाजाको प्रयोगका विषयमा युवालाई सिकाउने गरिएको छ । यसरी सिकेको सीप प्रदर्शनका क्रममा प्रयोग गर्दा युवामा आत्मविश्वास बढ्दै गएको छ।

पाँच वर्षका बालबालिकादेखि युवासम्म
नेवाः तजिलजि पुचःमा हाल करिब एक सय युवा युवती आबद्ध छन्। त्यसमा बालबालिकाको सहभागिता उल्लेख्य छ । पाँच वर्षको उमेरदेखि नै बालबालिकालाई सांस्कृतिक गतिविधिमा सहभागी गराउने गरिएको छ।

सानै उमेरदेखि संस्कृति र परम्परासँग परिचित गराएमा उनीहरूले त्यसलाई आफ्नो जीवनको अभिन्न हिस्साका रूपमा ग्रहण गर्ने अध्यक्ष श्रेष्ठको विश्वास छ । ‘सानै उमेरदेखि बालबालिकालाई संस्कृति र परम्परासँग जोड्न सके भविष्यमा यसको संरक्षण गर्न सहज हुन्छ,’ उनी भन्छन्।

लाखे नाच हेरेर रमाउने बालबालिका अब स्वयम् लाखेको चाल सिक्न थालेका छन् । धिमेको तालमा शरीर चलाउन सिकिरहेका छन्। बाजाको तालसँग नृत्यको तालमेल मिलाउन अभ्यास गरिरहेका छन्।

संस्कृति संरक्षणमा सबैभन्दा महत्वपूर्ण पक्ष पुस्तान्तरण हो । कुनै पनि परम्परा लिखित दस्तावेजमा मात्र सीमित भयो भने त्यसको जीवन्तता हराउन सक्छ । तर एउटा पुस्ताले अर्को पुस्तालाई व्यवहारमै सिकाउँदै लगेमा संस्कृति पुस्तौँसम्म बाँचिरहन्छ।

व्यासमा अहिले यही प्रक्रिया देखिन थालेको छ। अग्रज पुस्ताबाट लाखे नाच सिकेका युवाले अहिले नयाँ पुस्ताका बालबालिकालाई सिकाउन थालेका छन्। यसले पुरानो पुस्ताबाट सिकेको ज्ञान र सीप युवामा पुगेपछि त्यही सीप बालबालिकामा पुग्ने वातावरण बनेको छ।

स्थानीय युवा निमेश श्रेष्ठका अनुसार आफूहरू अग्रजबाट सिक्दै सांस्कृतिक गतिविधिमा सहभागी हुन थालेपछि परम्परालाई निरन्तरता दिन सहज भएको छ । उनका अनुसार लाखे नाच सिक्नु केवल नृत्य सिक्नु मात्र होइन, आफ्नो समुदायको इतिहास, संस्कार र पहिचान बुझ्ने अवसर पनि हो ।

लाखेसँगै धिमेको ताल
नेवाः तजिलजि पुचःको सांस्कृतिक अभियान लाखे नाचमा मात्र सीमित छैन। पुचःले नेवारी संस्कृतिमा प्रयोग हुने धिमे बाजा, परम्परागत सङ्गीत तथा विभिन्न नृत्यको प्रशिक्षण दिँदै आएको छ।

धिमे बाजाको ताल र लाखे नाचबीचको सम्बन्धलाई युवापुस्ताले बुझून् भन्ने उद्देश्यले नियमित अभ्यास गराउने गरिएको छ । विशेषगरी युवा तथा बालबालिकालाई धिमे बाजा बजाउने सीप सिकाएर सांस्कृतिक कार्यक्रममा सहभागी गराउने गरिएको अध्यक्ष श्रेष्ठ बताउँछन्।

उनका अनुसार सांस्कृतिक गतिविधिलाई पर्व र उत्सवका समयमा मात्रै प्रदर्शन गर्ने परम्परामा सीमित नराखी नियमित सिक्ने, अभ्यास गर्ने र प्रस्तुत गर्ने वातावरण बनाउन आवश्यक छ। ‘संस्कृति पर्वमा देखाउने कुरा मात्र होइन। यसलाई दैनिक जीवनसँग जोड्न सकियो भने मात्रै नयाँ पुस्तामा यसको अपनत्व बढ्छ,’ श्रेष्ठले भने।

१५ गुठीका युवालाई एउटै अभियानमा जोड्दै
व्यास नगरपालिकाभित्र रहेका १५ वटा गुठीमा आबद्ध युवालाई नेवाः तजिलजि पुचःले एउटै सांस्कृतिक अभियानमा जोडेको छ। विभिन्न गुठीका आफ्ना–आफ्नै परम्परा र सांस्कृतिक अभ्यास भए पनि युवालाई साझा मञ्चमा ल्याएर नेवारी भाषा, कला, संस्कार तथा परम्पराको संरक्षण गर्ने प्रयास भइरहेको छ।

यसले एकातिर युवाबीच सांस्कृतिक सम्बन्ध विस्तार गरेको छ भने अर्कोतर्फ विभिन्न गुठीमा रहेका सांस्कृतिक ज्ञान र सीपलाई साझा रूपमा अगाडि बढाउने अवसर दिएको श्रेष्ठको भनाइ छ।

नाच र बाजाभन्दा अगाडि भाषा र लिपिको चिन्ता
पुचःले अब लाखे नाच र परम्परागत बाजागाजासँगै नेपाल भाषा तथा रञ्जना लिपिको प्रशिक्षण सञ्चालन गर्ने तयारी गरेको छ । अध्यक्ष श्रेष्ठका अनुसार नाच र बाजा जोगाएर मात्रै संस्कृति पूर्ण रूपमा संरक्षण हुन सक्दैन। भाषा र लिपि पनि संस्कृतिको महत्वपूर्ण आधार भएकाले त्यसको संरक्षणमा नयाँ पुस्तालाई जोड्न आवश्यक रहेको उनले बताए।

‘नाच र बाजा मात्रै होइन, हाम्रो भाषा र लिपि पनि संस्कृतिको महत्वपूर्ण आधार हो । त्यसैले युवापुस्तालाई नेपाल भाषा र रञ्जना लिपि सिकाउने तयारी गरेका छौँ,’ उनले भने।

आधुनिक जीवनशैली र प्रविधिको बढ्दो प्रभावका कारण नयाँ पुस्तामा मौलिक भाषा र लिपिको प्रयोग घट्दै गएको उहाँको बुझाइ छ । त्यसैले बालबालिका र युवालाई आकर्षित गर्ने गरी भाषा तथा लिपि सिकाउने कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

आधुनिकताबीच मौलिकताको खोजी
प्रविधिको विकाससँगै मानिसको जीवनशैलीमा तीव्र परिवर्तन आएको छ। मोबाइल फोन, सामाजिक सञ्जाल र आधुनिक मनोरञ्जनका माध्यमले नयाँ पुस्ताको दैनिक जीवनमा गहिरो प्रभाव पारेका छन्।

यस्तो अवस्थामा परम्परागत संस्कृति र मौलिक अभ्यासलाई नयाँ पुस्तासम्म पु¥याउनु चुनौतीपूर्ण बन्दै गएको छ । तर व्यासमा युवाले आफैँ लाखेको मुखौटा लगाएर नाच्न थालेका छन् । धिमे बजाउन थालेका छन्। अग्रजबाट सिकेका चाल र ताल नयाँ पुस्तालाई सिकाउन थालेका छन् । यही सक्रियताले मौलिक संस्कृति संरक्षणप्रति आशा जगाएको छ।

संस्कृति संरक्षणका लागि केवल अग्रज पुस्ताले प्रयास गरेर पुग्दैन। नयाँ पुस्ताले त्यसलाई आफ्नो मानेर अपनत्व महसुस गर्नुपर्छ । व्यासमा अहिले देखिएको युवा सहभागिताले यही अपनत्व बढ्दै गएको सङ्केत गरेको छ । लाखे नाच धेरैका लागि मनोरञ्जनको माध्यम हुन सक्छ। तर नेवा समुदायका लागि यो आफ्नो इतिहास, संस्कार र सामुदायिक पहिचानसँग जोडिएको परम्परा भएको श्रेष्ठको भनाइ छ।

संरक्षणसँगै प्रोत्साहनको अपेक्षा
लाखे नाचलगायतका मौलिक सांस्कृतिक गतिविधिमा युवाको सहभागिता बढ्दै गए पनि यसको दीर्घकालीन संरक्षणका लागि स्थानीय तह, समुदाय र सरोकारवाला संस्थाको निरन्तर सहयोग आवश्यक रहेको युवाको भनाइ छ।

लाखे नाच सिक्ने र सिकाउने प्रक्रिया निरन्तर बनाउन प्रशिक्षण, पोशाक, बाजागाजा, अभ्यासस्थल तथा सांस्कृतिक कार्यक्रमका लागि आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने मागसमेत गरिएको छ।