काठमाडौँ । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीलाई लिएर सरकारको आलोचना गरेका छन् ।
सोमबारको राष्ट्रियसभा बैठकमा सांसद ढुङ्गानाले वर्तमान सरकारको कार्यशैली निरङ्कुशतातर्फ उन्मुख भएको आरोप लगाउँदै लोकतान्त्रिक व्यवस्थामा पञ्चायती शैलीको अभ्यास दोहोरिएको बताएका हुन् ।
ढुङ्गानाले जबरालाई मध्यरातमा बिनापुर्जी पक्राउ गरिएको घटनाले कानुनी शासनमाथि प्रश्न उठाएको बताए । उनले सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री र गृहमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गरे ।
सरकारले दुई तिहाइको दम्भमा स्वेच्छाचारी निर्णय गरिरहेको आरोप लगाउँदै उनले संसद् र जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह गरे ।
उनले भने, ‘हिजो पञ्चायतकालमा सिभिल ड्रेसमा आएर बिनाजानकारी गिरफ्तारी हुन्थ्यो, आज लोकतन्त्रमा पनि त्यस्तै अवस्था देखिनु चिन्ताजनक छ ।’
सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा हुकुमी शासन लाद्न खोजेको उनको आरोप थियो । कुनै पनि घटनाबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने र जनताप्रतिको संवैधानिक दायित्व पूरा गर्नुपर्ने उनले बताए ।
लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली जनता र युवा पुस्ता बलिदान दिनसमेत तयार रहेको उल्लेख गर्दै उनले सरकारलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गरे । सरकार निरङ्कुशतातर्फ अघि बढिरहे देश गम्भीर दुर्घटनामा पर्न सक्ने उनको चेतावनी थियो ।

प्रतिक्रिया