यातायात व्यवसायी महासंघले भन्यो- बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्नू


काठमाडौं । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै असोज ८ गते बिहीबारदेखि असोज १२ गतेसम्म टाढा र रातिको यात्रा नगर्न भनेको हो । त्यस्तै यातायात सेवा सञ्चालकलाई पनि सञ्चालनपूर्व सडकको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन भनेको छ ।

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालालाई जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको थियो । महासंघले सोही अनुसार यातायात सञ्चालन गर्न आफ्ना सदस्यलाई सचेत गराएको छ ।

मौसमविद्हरूले असोज ८ गतेदेखि भारी वर्षा हुने अनुमान गरेका छन् । खासगरी लुम्बिनी र गण्डकीमा धेरै वर्षा हुने अनुमान छ । यसबाट सडकमा बाढी तथा पहिरोको जोखिम हुने भन्दै सरकारले पनि सबैमा सचेत हुन आग्रह गरिसकेको छ ।