बसन्तपुरमा लिङ्गो ठड्याएपछि सुरु भयो इन्द्रजात्रा


काठमाडौं । हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि विधिवत् इन्द्रजात्रा सुरु भएको छ ।

भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर नेवार समुदायले यो जात्रा सुरु गर्छन् । त्यसपछि विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म यो जात्रा मनाइन्छ ।

जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार नाच नचाइन्छ । देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच पनि नचाउने गरिन्छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौं दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वज पातन गर्ने अर्थात् लडाउने गरिन्छ । यो पर्व काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानका नेवारी समुदायले पनि धुमधामका साथ मनाउँछन् ।