ताइवानलाई अमेरिकी हतियार बिक्री रोक्ने विषय ट्रम्प–सी वार्तामा उठ्ने


रोयटर्स । चीनका राष्ट्रपति सी चिनफिङले यसै साता वासिङ्टन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् १९८२ को संयुक्त विज्ञप्ति कार्यान्वयन गर्दै ताइवानलाई अमेरिकी हतियार बिक्री रोक्न आग्रह गर्ने अपेक्षा गरिएको छ । स्रोतका अनुसार सीले अमेरिकी राष्ट्रिय अभिलेखालय (नेसनल आर्काइभ्स)को भ्रमणका क्रममा समेत यो मुद्दा उठाउन सक्नेछन्।

बेइजिङले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ र यसलाई चीनको सबैभन्दा संवेदनशील तथा महत्वपूर्ण कूटनीतिक मुद्दाका रूपमा प्रस्तुत गर्दै आएको छ। चीनले पटक–पटक ताइवानलाई हतियार बिक्री रोक्न अमेरिकासँग आग्रह गर्दै आएको छ।

औपचारिक कूटनीतिक सम्बन्ध नरहे पनि अमेरिकी कानुनअनुसार लोकतान्त्रिक रूपमा शासित ताइवानलाई आफ्नो रक्षाका लागि आवश्यक साधन उपलब्ध गराउन अमेरिकामाथि दायित्व छ। तर ताइवानले आफ्नो सार्वभौमसत्तामाथि चीनले गर्दै आएको दाबी अस्वीकार गर्दै आएको छ।

यसै साता सी ट्रम्पसँग शिखर वार्ताका लागि वासिङ्टन जाने तयारी भइरहेका बेला अमेरिका–चीनबीच भएका छलफलसँग परिचित तीन स्रोतले रायटर्सलाई चीनले सन् १९८२ मा हस्ताक्षर भएको दुई देशबीचको तेस्रो ‘संयुक्त विज्ञप्ति’बारे आफ्नो व्याख्या प्रस्तुत गर्न सक्ने बताएका छन्।

उक्त संयुक्त विज्ञप्तिमा अमेरिकाले ताइवानलाई हतियार बिक्री क्रमशः घटाउने र ताइपेईलाई दीर्घकालीन रूपमा हतियार बिक्री गर्ने आफ्नो उद्देश्य नरहेको उल्लेख गरेको थियो।

तर त्यससँगै जारी गरिएको छुट्टै ज्ञापनपत्रमा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले ताइवानलाई हतियार बिक्री घटाउने अमेरिकी इच्छा चीनले ताइवानसँगको मतभेद शान्तिपूर्ण रूपमा समाधान गर्ने प्रतिबद्धता निरन्तर कायम राख्ने कुरामा ‘पूर्ण रूपमा निर्भर’ रहेको स्पष्ट गरेका थिए।

पछिल्ला पाँच वर्षमा चीनले ताइवान वरिपरि सैन्य गतिविधि तीव्र बनाएको छ। यस क्रममा प्रत्यक्ष क्षेप्यास्त्र परीक्षणसहित सैन्य अभ्याससमेत गरिँदै आएको छ। चिनियाँ सशस्त्र सेनाले लगभग दैनिक रूपमा ताइवान वरिपरि गतिविधि सञ्चालन गर्दै आएको छ।

चिनियाँ विदेश मन्त्रालयले ताइवानलाई अमेरिकी हतियार बिक्रीको आफूहरूले ‘दृढतापूर्वक विरोध’ गर्ने जनाएको छ। तीनवटै संयुक्त विज्ञप्ति तथा ताइवानसम्बन्धी अमेरिकाले विगतमा गरेका प्रतिबद्धता पालना गर्नु दुई देशबीच स्थिर र स्वस्थ सम्बन्ध विकासका लागि ‘आवश्यक पूर्वसर्त’ भएको चीनको भनाइ छ।

सी आज वासिङ्टन पुग्नेछन्। बिहीबार औपचारिक वार्ता हुने र शुक्रबार अमेरिकी राष्ट्रिय अभिलेखालयको भ्रमण गर्ने कार्यक्रम रहेको स्रोतहरूले बताएका छन्।