भोटेकोसी बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतमा जुट्न ‘नेपाल प्रथम’को अपील


काठमाडौँ । ‘नेपाल प्रथम’ राष्ट्रिय अभियानले रसुवाको टिमुरे हुँदै आएको भोटेकोसी नदीको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारसहित सबै पक्षसँग आग्रह गरेको छ।

अभियानका राष्ट्रिय संयोजक नारायणप्रसाद ढकालले बुधबार जारी गरेको विज्ञप्तिमा बाढीबाट टिमुरे, स्याफ्रुबेसी र त्रिशूलीलगायत क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणप्रति दुःख व्यक्त गरिएको छ।

बाढीबाट नदी तटीय क्षेत्रका विद्यालय, बस्ती, सार्वजनिक संरचना, सडक तथा पुलमा गम्भीर क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको अभियानले जनाएको छ।

विपद्को समयमा राजनीतिक मतभेद, व्यक्तिगत स्वार्थ र औपचारिकताभन्दा माथि उठेर नागरिकको जीवनलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै अभियानले सरकार, राजनीतिक दल, जनप्रतिनिधि, निजी क्षेत्र, सामाजिक संघसंस्था, युवा, स्वयंसेवक तथा नागरिकलाई उद्धार र राहतमा एकजुट हुन आह्वान गरेको छ।

क्षतिग्रस्त सडक, पुल, विद्युत्, सञ्चार तथा सार्वजनिक सेवाका पूर्वाधार तत्काल सञ्चालनमा ल्याउन तत्कालीन राहतसँगै मध्यकालीन पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणको स्पष्ट योजना बनाउन पनि अभियानले आग्रह गरेको छ।

त्यस्तै, प्रभावित नागरिकलाई सुरक्षित आवास, खाद्यान्न, स्वच्छ खानेपानी, स्वास्थ्य सेवा, शिक्षा तथा अन्य आधारभूत सेवाबाट वञ्चित हुन नदिन सरकारको ध्यानाकर्षण गराइएको छ।

अभियानले आफ्ना सदस्य तथा साझेदार संस्थालाई राहत तथा मानवीय सहायता कार्यक्रममा तत्काल जुट्न अपिल गर्दै नदी तटीय क्षेत्रका नागरिकलाई सम्भावित थप जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।