उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र बस आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३५१६ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा अटोमा सवार बेलका नगरपालिका–५ मैनीकी ३४ वर्षीया मन्दिरा मगर र पहिचान नखुलेकी अर्की एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा अस्पतालमा उपचारका क्रममा बिहान ११ः४५ बजे मृत्यु भएको हो।
दुर्घटनामा अटो चालक बेलका–५ मैनीका २८ वर्षीय इन्द्र थापा मगर र सोही स्थानका १८ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन्। मोरङको विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङ भने मध्यम घाइते भएका छन्।
घटनापछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरी स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित घोपा अस्पताल पठाएको थियो।
अटो प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ भने बस र चालक बेलका–५ घुम्नेका करिब ३६ वर्षीय विक्रम थापा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको नियन्त्रणमा छन्।

प्रतिक्रिया