बढ्दो हत्या, हिंसा र बलात्कार भदौ २४ को विध्वंसात्मक अराजकताले सिर्जना गरेको विचलित मनोविज्ञानको परिणामः महासचिव पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजमा बढ्दो हत्या, हिंसा र बलात्कारका घटना केवल आपराधिक घटना मात्र नभएको बताएका छन्।

सामाजिक संजालमार्फत पोखरेलले सामाजिक अराजकता, कमजोर राज्य व्यवस्था तथा २०८२ भदौ २४ गतेको विध्वंसात्मक घटनाले सिर्जना गरेको विचलित मनोविज्ञानका कारण यस्ता घटना बढेको दाबी गरेका हुन्।

उनले पछिल्लो समय समाजमा आत्महत्याको श्रृंखलासमेत बढेको बताएका छन्। पोखरेलले २०८२ भदौ २४ गतेको विध्वंसात्मक घटनाका योजनाकार र दोषी पहिचान गरी दण्डित नगरेसम्म समाजमा अपराधीहरू निर्भय हुने र नागरिकहरू भय तथा असुरक्षामा बाँच्नुपर्ने अवस्था कायम रहने बताएका छन्। उनले दोषीलाई कानुनी दायरामा ल्याएर दण्डित गर्नुपर्नेमा जोड दिएका छन्।

उनले भनेका छन्, ‘समाजमा बढ्दो हत्या, हिंसा र बलात्कार केवल आपराधिक घटना मात्र होइनन्, यी सामाजिक अराजकता, कमजोर राज्य व्यवस्था र २०८२ भाद्र २४ को विध्वंसात्मक अराजकताले सिर्जना गरेको विचलित मनोविज्ञानका परिणाम हुन् । यसले समाजमा आत्महत्याको श्रृंखला पनि वृद्धि गरिदिएको छ । जबसम्म उक्त विध्वंसकारी घटनाका योजनाकार र दोषीहरू पहिचान गरी दण्डित हुँदैनन्, तबसम्म समाजमा अपराधीहरू निर्भय हुने र नागरिकहरू सदैव भयभीत तथा असुरक्षित हुने अवस्था रहिरहन्छ।’