काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । खड्काकी पत्नी विनिता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि बिहीबार सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको हो ।
अदालतले खड्कालाई अदालतको अनुमति लिएर मात्रै विदेश जान पाउने पनि आदेश दिएको छ । खड्कालाई सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चैत १५ मा पक्राउ गरेको थियो ।
आदेशमा भनिएको छ, ‘निजमाथिको दाबीको कसूरको अनुसन्धान हिरासत बाहिर बसेर नै हुन सक्ने प्रकृतिको देखिँदा सम्बन्धित अदालतबाट अनुमति लिई मात्र निवेदकलाई विदेश जान दिनू र निजलाई तत्काल थुनामुक्त गर्नु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ ।’
अदालतले खड्कालाई पक्राउ पुर्जी र म्याद थपसमेत कानुनसम्मत नदेखिएको बताएको छ । आदेशमा भनिएको छ, ‘प्रतिपादित सिद्धान्त समेतको आधारमा निवेदकलाई हिरासतमा राख्दा र प्रक्रिया पूरा गरेको देखिएन । निजको पक्राउ पूर्जी र म्याद थप कानूनसम्मत देखिएन।’
सर्वोच्चको आदेशमा छ । अदालतले खड्काको पक्राउ र म्याद थपको सिलसिलामा भएका गम्भीर कानुनी त्रुटी देखिएको बताएको छ । साथै, जिल्ला अदालतले पनि पक्राउ पूर्जी स्वीकृत गर्दा पर्याप्त आधार नहेरेको सर्वोच्चको ठहर छ ।




प्रतिक्रिया