-नारायण गाउँले ।
लोकतान्त्रिक देशमा चुनावी असफलताको जिम्मेवारी नेतृत्वले लिने भन्ने एकदम सामान्य र प्रचलित अभ्यास हो । अपवादबाहेक त्यसरी जिम्मेबारी लिएर राजीनामा दिनेहरू फेरि नेतृत्वको प्रतिष्पर्धामा फर्किने चलन पनि छैन । एकपटक असफल भएको मान्छे सधैँ असफल हुन्छ भन्ने कत्ति पनि हुँदैन, तर एकपटक असफल भएको व्यक्ति फेरि सफल नै हुन्छ भन्ने पनि हुँदैन ।
तर कम्तिमा एक कार्यकाल नेतृत्व लिएर, पार्टीको विधानदेखि सङ्गठनसम्म आफ्नो क्षमता र रणनीतिअनुसार सुधारको कोसिस गरेर पनि सफलता प्राप्त नभए त्यसको जिम्मेवारी लिने हो । आफूभन्दा सक्षम र योग्यलाई कुर्सी छोड्ने हो । गगन थापाले सभापतिका रूपमा कुनै कार्यकाल बिताएका छैनन् । विशेष महाधिवेशनबाट आउने नेतृत्व अन्तरिमजस्तै थियो ।
न समानुपातिक सूची सच्याउन मिल्ने थियो, न क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न बाँकी थियो । तैपनि कांग्रेसजस्तो पुरानो पार्टीले सयभन्दा बढी नयाँ उम्मेदवार चयन गरेर एउटा राम्रो सुरुवात गरेको थियो । निर्वाचनबाहेक पार्टीको साङ्गठनिक सुधार गर्ने अन्य कुरोमा त उनीसँग कुनै समय र अवसर थिएन । यस्तोमा नैतिकता देखाउँदै राजीनामा गर्ने भन्ने भावुकतामात्रै हो ।
कांग्रेसमात्रै बढारिएको होइन, परम्परागत सबै दल बढारिएका छन् । जनताले यसपल्ट विकल्प र परिवर्तन खोजेको स्पष्ट थियो । उनले कांग्रेसभित्र गर्न खोजेको परिवर्तन ढिलो भयो र अपर्याप्त भयो । तैपनि जस्ताको त्यस्तै, कुनै नयाँ परिवर्तन र एजेन्डाबिना देउबाकै नेतृत्वमा चुनाव लडेको भए यसभन्दा राम्रो रिजल्ट आउने थियो भन्ने आधार देखिन्न । उनको दुई महिने नेतृत्वकै कारण कांग्रेस पराजित भएको भन्ने कसैलाई लागेको छैन ।
चुनावमा हारजीत हुन्छ । अघिल्लो संसदमा कांग्रेस सबैभन्दा ठूलो दल थियो । सरकार गठन गर्ने जनमत उसैसँग थियो तर उसले त्यो अवसर पाएन । तेस्रो दलले सरकार बनायो । अस्थिरताको सुरुवात त्यही थियो । तर संसदीय गणितको सत्य त्यही हो र सबैले स्वीकार गर्नुपर्छ । कांग्रेसभन्दा साना सबै दल समेत बारम्बार सहभागी भएको त्यो संसदीय कार्यकाल असफल हुनुको जिम्मेबारी, सामूहिक नै होला, एकपल्ट मन्त्रीसमेत नभएका गगन थापाको मात्रै नहोला ।
लोकतन्त्रमा सत्ता र प्रतिपक्ष दुबै आवश्यक हुन्छ । नम्बरमा बढारिएको होला, तर एउटा लोकतान्त्रिक दल सकिने भन्ने पनि हुँदैन । गगन थापा नहुँदैमा कुनै दल या देशको रौँ झर्ने होइन तर उनले छोड्दै गर्दा देशको दोस्रो ठूलो दल झन् नयाँ हुनुको साटो झन् थोत्रो र विचारहीनहरूको क्लब बन्ने डर भने हुन्छ । परिवर्तन चाहे कुनै पार्टीभित्र होस् या देशमा होस्, समर्थनको कित्तामा उभिनेहरू पनि हुन्छन् । त्यही कित्ताबाट मैले पछिल्लो पल्ट उनलाई समर्थन गर्दै आएको छु र एउटा चुनाव हार्नेबित्तिकै त्यसको आधारभूमि बदलिन्न । विचारको समर्थन गर्नेलाई शक्ति र प्राप्तिको सम्बन्ध हुँदैन । विचारबाट डगमग देखिएको, या राजनैतिक–आर्थिक चरित्रमा दाग देखिएको दिन शक्तिमा पुगे पनि आलोचना सुरु हुन्छ ।
राजीनामा दिने, फेरि महाधिवेशनमा फ्रेस लडेर आउने भन्ने होला । कार्यकर्ताबाट पुनः भरोसा जित्ने कुरो राम्रै होला तर यो भावुकता नै हो । नियमित महाधिवेशनबाट सभापति भएपछि अबको पाँच वर्षमा हुने चुनावमा यस्तै रिजल्ट आए राजीनामासँगै रिटायर्ड हुने बाटो सुल्टो हुन्थ्यो ।
अँ, मलाई मन पर्नुका कारणमध्ये स्पष्ट बोल्नु, प्रश्नबाट सकेसम्म नभाग्नु र परिस्थितिअनुसार परिवर्तन हुन सक्ने गुण पनि हुन् । पछिल्ला दिनमा यी गुण दृश्यमा छैनन् । उनीजत्तिको नेताले परिणामको प्रारम्भिक चित्र आएकै दिन बालेन र रविलाई औपचारिक बधाई दिँदै पराजयको नैतिक जिम्मेबारी लिनपर्ने हो । यस्तो ’लाउड एन्ड क्लियर’ जनमतको सम्मान गर्नु र देखाउनु दुबै आवश्यक हुन्छ । अझै पनि १७ लाख बढी जनताले कांग्रेसलाई भोट हालेका छन्, तिनलाई सम्बोधन गर्दै धन्यवाद दिन पर्ने हो । नेतृत्व लिनेदेखि बधाई दिनेसम्मका सबै कुरामा ढिलाइ भएकाले नै करियर दाउमा पुगेको पनि होला । यो मौनता मलाई व्यक्तिगत रूपमा पचेको छैन ।
राजनीति नै छोड्ने हो भने अलग भयो । नत्र नेतृत्व लिएको दुई तीन महिनामैं राजीनामा दिएर नैतिक र नदिए अनैतिक भइने भन्नेचाहिँ हुँदैन । संसदमा प्रत्यक्ष चुनाव जितेर आएका युवा सांसदलाई संसदीय दलको नेतृत्व दिने र आफूले पाँच वर्ष जस्तो पार्टी बनाउन चाहेको हो त्यस्तो बनाउनेतिर दत्तचित्त भएर लाग्ने कुरा नै अर्जुनदृष्टि हुन पर्ने हो ।
बाँकी त तपाईंहरू नै धेरै जान्ने हुनुहुन्छ !

प्रतिक्रिया