दोहा । कतारले आफ्नो प्रमुख ग्यास उत्पादन केन्द्र रस लाफान औद्योगिक सहरमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणबाट ठूलो क्षति पुगेको जनाएको छ । कतारको परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गरी आक्रमणको कडा शब्दमा निन्दा गर्दै आगलागीका कारण केन्द्रमा उल्लेखनीय क्षति भएको जनाएको छ ।
आन्तरिक मन्त्रालयका अनुसार घटनास्थलमा लागेको आगो प्रारम्भिक रूपमा नियन्त्रणमा ल्याइएको छ भने कुनै मानवीय क्षति भएको छैन। विश्वकै सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास उत्पादक कम्पनी कतारएनर्जीले सबै कर्मचारी सुरक्षित रहेको र हताहती नभएको पुष्टि गरेको छ ।
इरानले इजरायलले आफ्नो दक्षिण पार्स ग्यास क्षेत्रमा गरेको आक्रमणको प्रतिकारस्वरूप खाडी क्षेत्रका तेल तथा ग्यास पूर्वाधारहरूलाई लक्षित गर्ने चेतावनी दिएको केही घण्टापछि उक्त घटना भएको हो । अमेरिका–इजरायलसँगको युद्धका कारण क्षेत्रीय तनाव तीव्र रूपमा बढिरहेको छ।
इरानले कतारको मेसाइइद पेट्रोकेमिकल कम्प्लेक्स, रस लाफान रिफाइनरी, साउदी अरेबियाको सामरेफ र जुबाइल पेट्रोकेमिकल केन्द्र तथा यूएईको अल होसन ग्यास क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएको थियो । यसबीच, कतारले इरानी दूतावासका सैन्य तथा सुरक्षा अधिकारीहरूलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गर्दै २४ घण्टाभित्र देश छोड्न निर्देशन दिएको छ। कतारले यसलाई आफ्नो सार्वभौमिकतामाथिको गम्भीर उल्लंघन र राष्ट्रिय सुरक्षामाथिको प्रत्यक्ष खतरा भनेको छ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले कतारका अमिर शेख तमिम बिन हमद अल थानी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनवार्ता गर्दै नागरिक पूर्वाधारमाथिका आक्रमण तत्काल रोक्न आह्वान गरेका छन्।
मार्च २ मा भएको अघिल्लो आक्रमणपछि कतारले रस लाफानमा उत्पादन अस्थायी रूपमा स्थगित गरेको थियो । दोहाबाट करिब ८० किलोमिटर उत्तरपूर्वमा रहेको उक्त केन्द्रले विश्वमा आपूर्तिको करिब २० प्रतिशत उत्पादन गर्दै आएको छ।
विशेषज्ञहरूका अनुसार तत्काल विश्व आपूर्तिमा ठूलो असर नपर्ने भए पनि क्षेत्रीय ऊर्जा आपूर्तिमा दबाब बढ्न सक्ने र मूल्य लामो समयसम्म उच्च रहने जोखिम रहेको छ।

प्रतिक्रिया