इन्दौर । भारत मध्यप्रदेशको इन्दौर बुधबार बिहान विद्युतीय सवारी साधनको चार्जिङ पोइन्टमा भएको विस्फोटपछि आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । प्रहरीकाअनुसार बुधबार बिहान ३ः३० देखि ४ः३० बजेको बीचमा तीनतले घरमा आगलागी भएको हो ।
घटनामा सात जनाको ज्यान गएको पुष्टि गरिएको छ भने एक बालक हराइरहेका र खोजी जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी आयुक्त सन्तोष कुमार सिंहकाअनुसार घरबाहिर चार्ज भइरहेको कारको चार्जिङ पोइन्टमा विस्फोट भएपछि कारमा लागेको आगो घरसम्म फैलिएको थियो ।
घरका ढोकामा इलेक्ट्रोनिक लक जडान गरिएकाले उद्धार कार्यमा कठिनाइ भएको उनले बताए । घरभित्र रहेका खाना पकाउने ग्यास सिलिन्डरहरू समेत विस्फोट हुँदा आगलागी झनै भयावह बनेको थियो ।
आगलागीका क्रममा घरभित्र फसेका तीन जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । घटनाका बेला घरभित्र करिब १० जना रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया