लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना


राँझा(बाँके) । नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय अब बाँकेको खजुराबाटै सञ्चालन हुने भएको छ ।

स्थापना भएको झण्डै पाँच वर्षपछि खजुरा गाउँपालिकाले आफ्नो स्वामित्वमा रहेको १० कट्ठा जग्गासहितको भवन विश्वविद्यालयलाई हस्तान्तरण गरेपछि अब विश्वविद्यालयको प्रशासनिक कामकाज खजुराबाट सञ्चालन हुने भएको हो । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोद ढकाललाई भवन र जग्गाको स्वामित्वसम्बन्धी कागजात आज हस्तान्तरण गरे।

गाउँपालिका अध्यक्ष विकले खजुरालाई शैक्षिक र स्वास्थ्यको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी देशको समृद्धिमा यो विश्वविद्यालय कोशेढुंगा सावित हुने उनले विश्वास व्यक्त गरे।

“खजुरामा क्यान्सर अस्पताल र कृषि क्याम्पस जस्ता प्रतिष्ठित संस्थालाई स्थानीयले जसरी अपनत्व दिएका छन् । यो विश्वविद्यालयले त्यस्तै माया र साथ पाउनेछ”, उनले भने, “विश्वविद्यालयलाई आवश्यक सहयोग र समन्वयका लागि गाउँपालिका सधैँ तत्पर रहेको छ ।”

उपकुलपति प्रा. डा. विनोद ढकालले अब छिट्टै खजुराबाटै विश्वविद्यालयका प्रशासनिक र प्राज्ञिक गतिविधि अगाडि बढ्ने जानकारी दिए । “भवनको आवश्यक मर्मत सम्भार गरी लगत्तै केन्द्रीय कार्यालय सञ्चालन गर्नेछौँ”, उनले भने, “पचास बिघा जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ, जग्गा प्राप्त हुनासाथ भौतिक पूर्वाधार निर्माणको कामले गति लिने छ ।”

विश्वविद्यालयका रजिष्टार रेगबहादुर भण्डारीले जग्गा प्राप्तिको कानुनी अल्झनका कारण प्रदेश सरकारले विनियोजन गरेको बजेट बर्सेनि फ्रिज हुने गरेको बताए । सुरुमा ९४ बिघा जग्गाको प्रस्ताव गरिए पनि हाल ५० बिघामा झारिएको र सो फाइल संघीय मन्त्रिपरिषद्मा निर्णयको पर्खाइमा रहेको उनले बताए ।

प्रदेश सरकारले २०७८ सालमा ‘विश्वविद्यालय ऐन’ जारी गरी यसलाई कानुनी रूपमा स्थापित गरेको थियो । खजुरामा भवन प्राप्त भएसँगै अब विश्वविद्यालयको स्थायी उपस्थितिको सुनिश्चितता भएको छ । हाल यो विश्वविद्यालयले नेपालगञ्जमा अस्थायी मुकाम बनाएर प्राविधिक, सूचना प्रविधि र इञ्जिनियरिङका कक्षा सञ्चालन गरिरहेको छ ।