विराटनगरमा तीनदिने एक दिवसीय क्रिकेट प्रतियोगिता हुने


मोरङ । कोशी प्रदेशमा क्रिकेट खेलप्रति युवाको आकर्षण वृद्धि गर्ने उद्देश्यले एक दिवसीय -५० ओभर)को क्रिकेट प्रतियोगिता हुने भएको छ ।

कोशी प्रदेश क्रिकेट एसोसिएसन र नेपाल क्रिकेट फाउण्डेशनद्वारा यही चैत ५, ६ र ७ गते विराटनगर–६ स्थित मेरिलेवन ज्वाला क्रिकेट रङ्गशालामा अनिल मिन क्रिकेट ट्रफि प्रतियोगिता हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

एसोसिएसनका अध्यक्ष सर्वजित राज पाण्डेले नेपाली खेलाडीले ५० ओभरको खेलमा रन बनाउन नसक्ने कमजोरीलाई सुधार गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।

खेलाडीलाई व्याटिङप्रति आत्मविश्वास जगाउन प्रतियोगिताको मुख्य उद्देश्य रहेको मोरङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष मोहम्मद साद बाबुले बताए ।

प्रतियोगिताका विजयी खेलाडीलाई ट्रफी र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारको व्यवस्था रहेको फाउण्डेशनले जनाएको छ ।

अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेलाडीमा यहाँको मोरङका अनिल श्रेष्ठ र सुनसरीका मीन दाहाल रहेका छन् । प्रतियोगिता यी दुवै खेलाडीको उपस्थिति रहने जनाइएको छ ।