काठमाडौँ । मस्तिष्कमा गम्भीर चोट भएका संयुक्त अधिराज्य बेलायतस्थित स्कटल्यान्डका सातजनाले सगरमाथा आधार शिविरसम्म गरेको पदयात्रामा आधारित वृत्तचित्र ‘द एभरेष्ट ड्रीम’ प्रदर्शन हुने भएको छ ।
अन्तर्राष्ट्रिय फिल्म महोत्सवको अवसर पारेर यही चैत २२ गते सो वृत्तचित्र प्रदर्शन गर्ने तयारी भइरहेको सो वृत्तचित्रका निर्देशक एवं पत्रकार गणेश पाण्डेले जानकारी दिए । नेपालमा प्रदर्शन भएपछि अन्तरराष्ट्रिय चलचित्र महोत्सवहरूमा पनि प्रदर्शन गर्ने लक्ष्य रहेको निर्देशक पाण्डेले बताए ।
करिब डेढ वर्ष लगाएर तयार पारिएको वृत्तचित्र निर्माणमा एसोसियट निर्माता शारदा गैरे, छायाङ्कार सुरेश श्रेष्ठ र नीरज पन्थी, सम्पादक ईश्वर कोइराला, सङ्गीतकार जुगल डङ्गोल र सन्दीप सरदार तथा ‘न्यारेटर’ कौशल घिमिरे छन् ।
‘द लिटिल शेर्पा फाउन्डेसन’का जेम्स ल्याम्बको नेतृत्वमा ‘ट्रमाटिक ब्रेन इन्जुरी’को समस्या झेलिरहेका पाँच जनाका परिवारसहित सात जनाको स्कटल्यान्डदेखि काठमाडौँ हुँदै खुम्बु क्षेत्रमा पर्ने सगरमाथा आधारशिविरसम्मको कठिन र प्रेरणादायी यात्रा वृत्तचित्रमा समावेश गरिएको छ ।
‘लिटिल शेर्पा फाउन्डेसन’को सहकार्यमा गोरखा भूकम्पसम्बन्धी वृत्तचित्र ‘भाग्यले बाँचेकाहरू’, बहुपति प्रथामाथि आधारित ‘को–हजबेण्ड’लगायत निर्माण गर्नुभएका पाण्डेले ‘द एभरेष्ट ड्रीम’ पनि निर्देशन गरेका हुन् ।

प्रतिक्रिया