सागर ढकाल प्रधानमन्त्रीलाई प्रश्न गर्छन्- स्वकीय सचिव भएकै आधारमा प्रकृति संरक्षण कोष जस्तो देशको जिम्मेवार निकाय सुम्पिन मिल्छ र ?


काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सागर ढकालले प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्ना प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका छन् । सामाजिक संजालमार्फत ढकालले निर्णय फिर्ता लिन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘आमा, जतिसुकै ठूलो महामानव भए पनि गल्ती हुन्छन् । हजुरले पनि देशलाई ठूलो निकास दिनुभएको छ, हृदयदेखि सम्मान छ। जाँदाजाँदै हिजो गरेका निर्णयमा भएको गल्ती सच्याउनु हुनेछ भन्ने कामना गरेका छौँ । न कुनै विज्ञता, न अनुभव–मात्र योग्यता प्रधानमन्त्रीको स्वकीय सचिव, यत्तिको आधारमा प्रकृति संरक्षण कोष जस्तो देशको जिम्मेवार निकाय सुम्पिन मिल्छ र ? त्यसमाथि अब हुने प्रधानमन्त्रीले देश कायापलट गर्छु, विज्ञ मान्छे राख्छु भन्दा पनि पहिलेको नजिर अनुसार गाह्रो छ। ५ वर्षभरि नै हजुरको यो अन्तिम निर्णय बालेन, रवि र हाम्रो लागि तगारो पो हुने भयो । हामीलाई अब नातावाद र कृपावादको अन्त्य गर्नु छ। आशा छ, हजुरले निर्णय सच्याएर उदारता देखाउनुहुनेछ।’

प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठलाई मनोनीत गरेकी थिइन् । उनी आगामी ५ वर्षका लागि उक्त पदमा मनोनीत भएका हुन् । यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा श्रेष्ठलाई मनोनित गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था गरेको छ । तर प्रधानमन्त्रीको यो कदमको सर्वत्र विरोध भइरहेको छ ।