पूर्वी नाकाबाटआठ महिनामा भित्रिए ६ हजार ७९१ पर्यटक


झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्ममा पूर्वी नाकाबाट अमेरिका, बेलायत, भूटानलगायतका मुलुकबाट पर्यटकहरू नेपाल भित्रिएका हुन् ।

उनका अनुसार साउनमा २८४, भदौमा २१९, असोजमा ५ सय ४१, कात्तिकमा ६ सय २४, मङ्सिरमा ८ सय ७३, पुसमा एक हजार ८ सय ५०, माघमा एक हजार ३ सय ९५ र फागुनमा एक हजार पाँच जना पर्यटक भित्रिएका हुन् ।

सोही अवधिमा अध्ययनलगायतका कामले विदेशमा रहेका तीन हजार १ सय ३३ नेपालीहरू सोही नाका भएर नेपाल फर्किएको समेत उनले बताए । उक्त नाकाबाट अध्यागमन प्रक्रिया पूरा गरी नेपालबाट विदेश फर्किएका पर्यटकको सङ्ख्या छ हजार ५ सय ५२ रहेको छ भने एक हजार ८ सय ४७ जना नेपाली समेत विदेश गएका छन् ।

गत आर्थिक वर्ष २०८१/८२ मा सोही नाकाबाट आठ हजार ७ सय २३ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका थिए ।