अफगानिस्तानमा तालिबानले हटायो महिला मन्त्रालय
तालिबानले अफगानिस्तानमा महिला मन्त्रालय हटाएर गरेर त्यसको साटो कडा धार्मिक मान्यताहरू कार्यान्वयन गराउने निकाय राखेको छ । तालिबानले महिला मन्त्रालयको नाम मेटेर सदाचार र दुष्कर्म मन्त्रालयको नाम राखेका थिए ।
सामाजिक सञ्जालमा प्रेषित भिडियोहरूमा महिला कर्मचारीहरूले कार्यालयबाहिर आफूहरूलाई काममा फर्काउन तालिबानसँग अनुनय गरिरहेको देखिन्छ । सन् १९९० को दशकताका तालिबान शासन अवधिमा उक्त मन्त्रालयले कठोर इस्लामिक नियमहरू पालना गराउनुका साथै महिलाहरूमाथि कडा प्रतिबन्धहरू लगाएको थियो ।
निरन्तरको सङ्घर्षपछि विगत २० वर्षमा अफगान महिलाहरूले आधारभूत अधिकारहरू पाएका थिए। तर पुरुषहरूले मात्र नेतृत्व गरेको तालिबान अन्तरिम सरकारले आफूहरूको पाएको अधिकार फेरि कटौती गर्ने डर महिलाहरूमा छ ।
अफगानिस्तानमा आएको परिवर्तन बुझेर अघि बढ्ने वाचा गरेको भए पनि तालिबानको कामगराइ फरक देखिएको छ । असन्तुष्टिको स्वरलाई दमन गरिएको, हिंसाको माध्यमबाट महिला र किशोरीसहित नागरिकहरूलाई विभिन्न प्रतिबन्ध लगाइएको र समाजमा अविश्वास तथा डर फैलाइएको भन्दै यसअघि पनि मानवाधिकारवादी समूहहरूले सदाचार र दुष्कर्म मन्त्रालयको विरोध गरेका थिए ।
तर तालिबानका सदस्यहरूले यो संस्थाको प्रतिरक्षा गर्दै आएका छन् । तालिबानका एक सदस्य मोहम्मद युसुफले यसको मुख्य उद्देश्य नै इस्लामको सेवा भएको र त्यस कारण पनि सदाचार र दुष्कर्म मन्त्रालय राख्न अनिवार्य भएको बताए । काबुलको परिसरमा राखिएको नयाँ बोर्डअनुसार मन्त्रालयको पूरा नाम सदाचारको प्रवर्धन र दुष्कर्मको नियन्त्रण मन्त्रालय हो ।
यो मन्त्रालय तालिबानको पहिलो शासनकालभन्दा अघिबाटै अस्तित्वमा थियो। तर तालिबानले सन् १९९६ देखि २००१ बीचको आफ्नो शासनकालमा यसको विस्तार गर्यो । यो मन्त्रालयको जिम्मा शरिया कानुन भनिने तालिबानले व्याख्या गर्दै आएको कठोर इस्लामिक कानुन कार्यान्वयनका लागि सडकमा कथित नैतिकता प्रहरी परिचालन गर्नु थियो ।
पुरुष अभिभावकबिना घरबाहिर निस्किएका र उनीहरूको व्याख्यामा अशिष्ट पहिरन लगाएका महिलाहरूलाई कुटपिट गरेपछि यो प्रहरी सबैतिर चिनिएको थियो । महिलाहरूले प्राथमिक तहभन्दा माथि पढ्न नपाउने नियम तालिबानले फेरि दोहोर्याउन लागेको बताइएको छ । यसअघि यो मन्त्रालय रहँदा सङ्गीत र नृत्य लगायतका मनोरञ्जनमा रोक थियो भने बुद्धिचाल खेल्न र चङ्गा उडाउन पनि प्रतिबन्ध लगाइएको थियो ।
प्रार्थनाको समय कडाइका साथ पालना गरिनुपर्थ्यो भने पुरुषहरूलाई दाह्री पाल्न अनिवार्य गरिएको थियो। पश्चिमा शैलीको कपाल काट्न पनि अनुमति थिएन । नियम उल्लङ्घन गर्ने जोसुकैलाई कसुर हेरी कोर्रा लगाउने, कुट्ने, हातखुट्टा काटिदिने र सार्वजनिक स्थानमा फाँसी दिनेसम्मको सजाय दिइन्थ्यो ।
काबुलमा रहेका दुई तालिबान सदस्यहरूले वाशिङ्टन पोस्टसँगको कुराकानीमा तालिबानले पहिलेकै जस्तो बल प्रयोग गर्ने कल्पना समेत आफूहरूले नगरेको बताए। उनीहरूले यस्ता नियमहरू कार्यान्वयन गराउन प्रहरी र लडाकुहरू परिचालन नहुने आफूहरूको अपेक्षा रहेको बताए । अमेरिकी नेतृत्वको सेना सन् २००१ मा अफगानिस्तान प्रवेश गरेपछि यो मन्त्रालय विघटन गरिएको थियो।
तर यथास्थितिवादीहरूको ठूलो दबावपछि राष्ट्रपति हामिद कारजाईले सन् २००६ मा सो मन्त्रालय पुनः स्थापना गरे । त्यस बेला ह्यूमन राइट्स वाच नामक मानवाधिकारवादी संस्थाले यो मन्त्रालयलाई “मनोमानी दुर्व्यवहारको कुख्यात प्रतीक“को सङ्ज्ञा दिएको थियो । तालिबान अधिकारीहरूले आफ्नो नयाँ सरकारमा इस्लामिक धार्मिक कानुनको सीमाभित्र रहेर महिलाहरूले पढ्न र काम गर्न पाउने बताएका छन्।