इसाई धर्मावलम्बीले पनि अल्लाह शब्द प्रयोग गर्न पाउने मलेशियाली उच्च अदालतको आदेश
ईश्वरलाई सम्बोधन गरिने अल्लाह शब्द इसाई धर्मावलम्बीले प्रयोग गर्न नपाउने एउटा नियमलाई मलेशियाको उच्च अदालतले उल्टाइदिएको छ । एक दशकभन्दा लामो समयको एउटा कानुनी लडाइँमा मलेशियाली अदालतले यो आदेश दिएको हो ।
अल्लाह शब्द प्रयोग गरिएका आफ्ना सामग्रीहरू जफत गरिएपछि एक इसाई महिलाद्वारा अदालतमा चुनौती दिइएको मुद्दाको यो एउटा पाटो हो । मलेशियामा गैरमुस्लिमले अल्लाह शब्द प्रयोग गरेको विषयले विगतमा तनाव तथा हिंसा निम्त्याएका उदाहरण छन् ।
मलेशियाको कुल जनसङ्ख्यामध्ये दुई तिहाइ मुस्लिम छन्। तर इसाई समुदायको पनि त्यहाँ ठूलै सङ्ख्यामा बसोबास रहेको छ । अल्लाह शब्द अरेबिक हुँदै मलाया भाषाबाट आफूहरूमाझ ईश्वरलाई सम्बोधन गर्न शताब्दीऔँदेखि प्रयोगमा रहेको इसाई समुदायको तर्क छ ।
मलेशियाको संविधानले धार्मिक स्वतन्त्रता प्रदान गरेको छ। यद्यपि पछिल्ला वर्षहरूमा त्यहाँ धार्मिक तनावहरू बढेका छन् । सन् २००८ मा जिल आयरल्यान्ड लवरेन्स बिल नाम गरेकी एक इसाई महिलाबाट मलाया भाषामा अल्लाह शब्द प्रयोग भएका कम्प्याक्ट डिस्कहरू विमानस्थलबाट जफत गरिएको थियो ।
त्यसपछि बिलले प्रकाशन सामग्रीमा इसाई धर्मावलम्बीहरूले अल्लाह शब्द प्रयोग गर्न नपाउने नियमलाई कानुनी उपचार खोज्न शुरू गरिन् । एक दशकभन्दा बढी समयपछि बुधवार क्वालालम्पुर उच्च अदालतले आस्थाको आधारमा विभेद झेल्न नपर्ने उनको अधिकार भएको आदेश सुनायो ।
आफ्नो आदेशमा न्यायाधीश नोर बीले अल्लाह सँगै अरेबिक भाषाबाट आएका काबा (मक्कास्थित मुस्लिमहरूको पवित्रतम स्थल), बैतुल्लाह (ईश्वरको घर), सलात (प्रार्थना) शब्द पनि इसाईहरूले प्रयोग गर्न पाउने आदेश दिएकी छन् ।
न्यायाधीश नोर बीले गैरमुस्लिमको हकमा ती चारवटा शब्दको प्रयोगमाथि प्रतिबन्ध लगाउने नियम अवैध र असंवैधानिक भएको ठहर गरेकी छन् ।