एउटा बालिका बलात्कार घटना जसले कोरियाको कानुनी कमजोरीलाई उजागर गरिदियो



एक बालिकालाई क्रुर तरिकाले बलात्कार गरेको आरोप लागेका व्यक्तिको सजाय कम र रिहाइको घटनालाई लिएर दक्षिण कोरियाको न्यायिक प्रणालीबारे नयाँ बहस सुरु भएको छ । बाह्र वर्षअघि ११ डिसेम्बर बिहान राजधानी सोलबाट दक्षिण पश्चिम अन्सानमा एकजना आठ वर्षीया बालिका विद्यालय जान निस्किएकी थिइन् ।

उनलाई ५६ वर्षीय चो दू सूनले बाटोबाटै अपहरण गरे र नजिकैको चर्चको शौचालयमा लगेर क्रुर ढङ्गले पिट्नुका साथै बलात्कार गरे । काल्पनिक नाम ना योङ्ग दिइएकी ती बालिका बाँच्न सफल भइन् । तर अहिलेसम्म पनि उनी आक्रमणका कारण शारीरिक रूपमा अशक्त छिन् भने मानसिक आघातबाट गुज्रिरहेकी छन् ।

उनको बलात्कारीलाई अपराध गरेको अन्सानमा फर्कन अनुमति दिइएपछि उनले अन्यत्रै सर्नुपर्ने भएको छ । चोको नयाँ निवास ना योङ्गको घरभन्दा एक किलोमिटरभन्दा पनि कम दूरीमा छ । सजाय घटाएर १२ वर्षमा सीमित पारिएर चो रिहा भएको केही दिनपछि पीडितका पिताले भने, ‘हामी भाग्न चाहँदैन थियौँ तर हामीसँग विकल्प थिएन। म के भन्न चाहन्छु भने सरकारले पीडितलाई लुक्न बाध्य पार्यो।’ उनले ना योङ उक्त स्थानबाट अन्यत्र जान नचाहेको पनि बताए ।

उनी आफ्ना नजिकका साथीहरूलाई गुमाउन चाहन्नन् । त्यो परिवार त्यहाँबाट हिँडेपछि आफ्नो पहिचान खुल्छ कि भनेर पनि डराएका छन् । तर उनीहरूका लागि उक्त स्थान छाड्नुभन्दा अर्को विकल्प थिएन । पीडितका पिताले भने, ‘धेरै वर्ष गुज्रियो तर अहिलेसम्म केही परिवर्तन भएन। बोझजति अहिले पनि सबै पीडितकै काँधमा आएको छ।’

यौन अपराधीप्रति उदार बनेको भन्दै चोको मुद्दाका कारण देशको न्याय प्रणालीले व्यापक आलोचना खेपेको छ । सुरुमा उनलाई १५ वर्षको जेल सजाय भएको थियो । उनले बलात्कार गर्दा आफूले रक्सी खाएको र मातेको दाबी गरेपछि पुनरावेदन गरिएको अदालतले त्यसलाई घटाएर १२ वर्ष बनाइदियो ।

त्यसको कारण दक्षिण कोरियामा रक्सी खाएर व्यापक प्रभाव परेका बेला गरिएको अपराधमा दिइने सजायमा उदारता अपनाइनु हो । ‘सिम सिन याक’ भनेर चिनिने देशको फौजदारी संहिताको दफा १० (२) ले भन्छ यदि मानसिक रूपमा अशक्त व्यक्तिले अपराध गरे अदालतले उसको सजाय घटाइदिन सक्छ ।

साथै अर्को कानुनले ’मादक पदार्थको सेवन’ले व्यक्तिको मानसिक अवस्थालाई अशक्त बनाइदिने बताउँछ । मानिसहरूले बलात्कारीको सजाय घटाइएपछि त्यसविरुद्ध आवाज बुलन्द गरे । कोरियन इन्स्टिच्युट अफ क्रिमिनोलोजीका यून जङ सूक उक्त मुद्दाले देशव्यापी बहस छेडेको बताउँछन् । उनले भने, ‘उनको मुद्दाले कोरियाली कानुनलाई परिवर्तन गरिदियो र जसरी हामी मादक पदार्थ सेवनलाई अपराधमा हेर्छौँ त्यसलाई पनि परिवर्तन गर्यो।’

उनको मुद्दापछि राष्ट्रिय संसद्ले उक्त कानुनमा संशोधन गर्यो र प्रतिवादीले मदिरा सेवनलाई बचाउका लागि गर्न सक्ने उपयोगलाई थप कठिन बनाइदियो । यद्यपि त्यसलाई हटाउने माग बढिरहेको भए पनि उक्त प्रावधान कायमै छ। र, मदिरापानको निर्णय गर्न अदालतको विवेकमा छाडिएको छ । अक्टोबर २०१९ मा कलेज पढ्ने विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका २६ वर्षीय पुरुषको जेल सजाय चार वर्षबाट तीन वर्षमा घटाइएको थियो।

उनका वकिलले उनले त्यसबेला मदिरा सेवन गरेको तर्क गरेका थिए । यसै वर्षको सुरुमा पनि २४ वर्षीय पुरुष सोङ जोङ वू १८ महिना मात्र जेल सजाय पाएर रिहा भएका थिए। उनले विश्वकै सबैभन्दा ठूलो बालबालिकाहरूको अश्लील भिडियो राख्ने वेबसाइट चलाएका थिए । अमेरिकाले माग गरेको उनको सुपुर्दगीलाई स्थानीय अदालतले गत जुलाईमा अस्वीकार गरेको थियो । महिला अधिकारकर्मीहरूले चाहिँ उनको सुपुर्दगी हुन नसक्नुले यौन अपराधीप्रति न्यायिक शिथिलतालाई दर्साउने बताएका छन् ।

चोको रिहाइलाई लिएर जनआक्रोश बढेको छ । छ लाखभन्दा बढी मानिसहरूले हस्ताक्षर गरेर राष्ट्रपतिको ब्लू हाउसको वेबसाइटमा पुनः सुनुवाइको माग गरेका छन् । तर सरकारले त्यसलाई अस्वीकार गरेको छ। ६८ वर्षका चोलाई उनकी पत्नीको घरमा लाने क्रममा पनि मानिसहरूले नारा जुलुस गरेका थिए । उनलाई रिहा गरेर सरकारी गाडीमा लगिएको थियो ।

रिहाइका क्रममा मानिसहरूले उक्त गाडीमा अण्डा प्रहार पनि गरेका थिए । प्रहरीले उनको पटकपटक चेकजाँच गर्ने बताएको छ र चोको गृहनगरमा थप प्रहरी बुथ स्थापना गरेको छ । उनको निगरानी गर्न ३५ वटा क्यामेराहरू जडान गरिएको छ भने उनले सात वर्षसम्म एउटा विद्युतीय निगरानी उपकरण सधैँ लगाउनै पर्ने नियम बनाइएको छ ।

प्रहरीले ना-योङको परिवारलाई पनि एउटा स्मार्ट घडी लगाउन आग्रह गरेका थिए। उक्त घडीले चो उनीहरूको आसपास आएमा जनाउ दिने थियो । तर पीडितका पिताले उक्त आग्रहले आफूहरूलाई थप चिन्तित बनाएको भन्दै त्यसलाई अस्वीकार गरेको बताए । कानुनका जानकारहरू न्याय प्रणाली परिवर्तन भइरहेको तर पर्याप्त नभएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्वाध सहायता अनुमति दिन आदेश

नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले इजरायललाई गाजापट्टीमा रहेका प्यालेस्टिनीका लागि आधारभूत मानवीय

ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो