जोर्ज हत्या प्रकरणः चारजना प्रहरी अधिकारीविरुद्ध नयाँ अभियोग
अफ्रिकी अमेरिकी पुरुष जोर्ज फ्लोइडको मिनियापलिसमा भएको मृत्युलाई लिएर बर्खास्त गरिएका चारजना प्रहरी अधिकारीविरुद्ध नयाँ अभियोगहरू घोषणा गरिएको छ । अदालतका दस्तावेजमा प्रहरी अधिकारी डेरेक शोभिनविरुद्ध पूर्वयोजना विनाको आशययुक्त हत्याको अभियोग लगाइने भएको छ ।
शोभिनविरुद्ध यसअघि विना पूर्वयोजना र विना आशय पारिस्थितिक कारणले हत्या भएको अभियोग लगाइएको थियो। यी पुराना अभियोगबारे पनि अभियोगपत्रमा उल्लेख गरिनेछ । यसअघि अभियोग नलागेका अन्य तीन प्रहरीमाथि गैरकानुनी काममा उक्साएको र मतियार बनेको आरोप लागेको छ ।
फ्लोइडको मृत्युले अमेरिकाभर जातिवाद र अश्वेत अमेरिकीमाथिको प्रहरी बर्बरतालाई लिएर ठूला प्रदर्शनहरू भएका छन् । विगत आठ दिनदेखि भएका त्यस्ता प्रदर्शनहरू धेरैजसो शान्तिपूर्ण छन् तर केही हिंसक पनि बनेका छन् र थुप्रै सहरहरूमा कर्फ्यू लगाइएको छ । प्रहरी अधिकारीहरूमाथि नयाँ अभियोगहरूको घोषणा गर्दै मिनेसोटा राज्यका महान्यायाधिवक्ता किथ एलिसनले ती अभियोगहरू न्यायको पक्षमा भएको बताए ।
मिनेसोटाका सिनेटर एमी क्लोबसारले ट्वीटरमा कम्तीमा यी अभियोगहरू न्यायका लागि अर्को महत्वपूर्ण कदम भएको बताएकी छन् । फ्लोइडको परिवारका वकिल बेन्जामिन क्रम्पले एक विज्ञप्तिमा भनेका छन्, ‘न्यायको मार्गमा यो एउटा महत्वपूर्ण कदम हो र जोर्ज फ्लोइडको अन्तिम संस्कारअघि नै यो महत्वपूर्ण कदम चालिएकोमा हामी कृतज्ञ छौं।’ तर त्यसको केहीपछि सीएनएनसँग बोल्दै उनले डेरेक शोभिनविरुद्ध पूर्वनियोजित आशययुक्त हत्याको अभियोग लगाउनुपर्ने परिवारले ठानेको उनले बताए ।
क्रम्पले थप अनुसन्धान भइरहेको र शोभिनविरुद्धको अभियोग अझै पनि परिवर्तन हुनसक्ने आफूहरूलाई बताइएको पनि जानकारी दिए । महान्यायाधिवक्ता एलिसनले पूर्वप्रहरी अधिकारीहरूविरुद्ध सफलतापूर्वक अभियोजन गर्न निकै कठिन हुने कुराबारे आफूमा कुनै भ्रम नरहेको बताए । मिनेसोटा राज्यमा सर्वसाधारण मारेको घटनामा जम्मा एकजना बहालवाला प्रहरी अधिकारी मात्रै दोषी साबित भएका छन् । मिनेसोटाको कानुन अनुसार फर्स्ट र सेकेण्ड डिग्री हत्यामा प्रतिवादीले हत्याको आशय राखेको प्रमाणित गर्नुपर्छ ।
फर्स्ट डिग्रीमा धेरैजसो हत्याको पूर्वयोजना हुनुपर्छ भने सेकेण्ड डिग्रीमा हत्याको आशय हुनुपर्छ तर त्यो पूर्वनियोजित हुँदैन । थर्ड डिग्री हत्यामा भने प्रतिवादीले पीडितलाई मार्न खोजेको भन्ने प्रमाण आवश्यक पर्दैन र त्यहाँ कारबाही खतरनाक भए पनि खासगरी ज्यान लिन खोजिएको हुँदैन । सेकेण्ड डिग्री हत्यामा दोषी हुनेलाई ४० वर्षसम्म जेल सजाय हुनसक्छ र थर्ड डिग्री हत्यामा १५ वर्षसम्म सजाय हुनसक्छ ।