श्यामशिला किवीको नमूना पकेट क्षेत्र



भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलालाई किवी पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । यहाँको कूल १२ दशमलव ५१ वर्गकिलोमिटर भ–ूभागमध्ये उपयुक्त जमिनलाई समेटेर गाउँपालिकाले किवीको नमूना पकेट क्षेत्रका रूपमा विस्तार थालेको हो ।

यहाँका ९० कृषकले पछिल्लो समय ३०० बढी रोपनी क्षेत्रमा व्यावसायिक किवीखेती गरिरहेका छन् । पकेट क्षेत्र निर्धारण गरेसँगै गाउँपालिकाले कृषकलाई आर्थिक तथा प्राविधिक सहयोगसमेत गरिरहेको छ । यो क्षेत्रमा गाउँपालिकाले विभिन्न आर्थिक वर्षमा गरी ५० लाख भन्दाबढी सहयोग गरिसकेको गाउँपालिकाको प्रमुख प्रशाकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । गाउँपालिकाले प्रोत्साहन गरेसँगै उत्सुक भएर किवीखेतीमा लागेको उनको भनाइ छ ।

उनले भने, “हामीले किवीको यो क्षेत्रलाई उपयुक्त क्षेत्रका रूपमा लिएका छौँ । यहाँको हावापानी किवीका लागि निकै उपयुक्त छ । हामीले यहाँ कृषकलाई लक्षित गरेर ५० लाखको हारहारीमा लगानी गरिसकेका छौँ ।”

‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमलाई निरन्तरता दिँदै सामूहिक खेतीमा जोड दिने गाउँपालिकाको भनाइ छ । सामूहिक कृषि गर्ने र बाँझो जमिनमा ठूला कृषिफार्म सञ्चालन गरी राम्रो गर्ने फार्म तथा कृषकलाई प्रोत्साहन गर्दै कृषिमा नमूना बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

जमिनको उत्पादकत्व र भूमिको प्रकारका आधारमा विभिन्न वडामा कृषि पकेट क्षेत्रका कार्यक्रम सञ्चालन भइरहेको राईको भनाइ छ । त्यस्तै गाउँपालिकाभित्रका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान गरी विकास भइरहेको उनले बताए ।

अध्यक्ष राईले भने, “समृद्ध पौवादुङमा बनाउने उद्देश्यले कृषि क्षेत्र, भौतिक निर्माणसँगै समग्र विकासमा जुटेका छौँ । कतिपय कामको नतिजा आउन थालेको छ । खासमा हाम्रो गाउँपालिकाको केही क्षेत्र सुक्खाग्रस्थ छन् । ती क्षेत्रमा पनि प्लाष्टिक टनेलको व्यवस्था गरेर खेती विस्तारमा जोड दिएका छौँ । विषेशगरेर बहुवर्षीय बालीका रूपमा किवीसँगै कागती र एभाकाडोको खेतीलाई पनि प्राथमिकताका साथ विस्तार गरिरहेका छौँ । यी बालीबाट दीर्घकालसम्म आम्दानी लिन सकिन्छ ।”

गाउँपालिकाले प्रोत्साहनमूलक कार्यक्रम ल्याएपछि कृषकसमेत उत्साहित भएर किवीखेती गरिरहेका छन् । यहाँका स्थानीयवासी राजेन्द्र तामाङले २५ रोपनी बढी क्षेत्रमा ३०० बढी किवीखेती गरिरहेको बताए । तामाङले गाउँपालिकासँगको साझेदारी लगानीमा खेती विस्तार गरेको जानकारी दिए ।

किवीखेतीको लागि रु सात लाख बढी लगानी गरिसकेको उनले बताए । कृषक तामाङले भने, “मैले तीन–चार चार वर्षअघिबाट खेतीको थालनी गरेको हुँ । सुरुमा मैले आफैँले इलामबाट बिरुवा ल्याएर विस्तार थालेको थिए । अहिले गाउँपालिकाले पकेट क्षेत्र नै निर्धारण गरेर काम थालेको छ । अहिले गाउँपालिकासँगको साझेदारीमा यसको थप विस्तारमा लागेको छु ।”

तामाङले किवी लगाएको ठाउँमा तरकारी खेतीसमेत विस्तार गर्ने सोच रहेको बाताए । साथै उनले विभिन्न परिकार बनाएर बिक्री गर्ने योजना रहेकोसमेत जानकारी दिए । आफ्नो जग्गाबाहेक अन्य जग्गालाई लिज तथा भाडामा लिएर थप विस्तार गर्ने योजना रहेको पनि सुनाए ।

“मैले किवीको भविष्य निकै राम्रो देखेको छु, त्यही सोचेर म खेतीमा लागेको हुँ । अहिले मेरो बगानमा भएको किवीले पहिलोपटक फल दिन थालेको छ । किवी लगाएर बाँकी रहेको ठाउँ तरकारी खेती गर्ने योजना छ । यहाँबाट पनि थप आयआर्जन गर्ने मेरो योजना छ”, कृषक तामाङले भने ।

गाउँपालिकाले यहाँको भूगोल निर्धारण गरेर विभिन्न बालीहरूको खेतीमा जोड दिएको जनाएको छ । माथिल्लो भेग भएकाले श्यामशिलालाई किवी पकेट क्षेत्र, गाउँपालिकाको वडा नं ३ च्याङग्रे, ४ बास्तिम, ५ सानोदुम्मा, ६ ठुलोदुम्मामा अकबरे खुसार्नी, मौरीपालन र एभोकाडोको खेतीको पकेट क्षेत्र निर्धारण गरिएको छ ।

त्यस्तै वडा नं २ तिवारी भञ्याङको सडकभन्दा माथिदेखि वडा नं १ श्यामशिलाको वडा कार्यालय मुनिको भूगोललाई आलु, बन्दाकोभी र काउलीको खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ काम भइरहेको गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिइन् । उपाध्यक्ष राईले भनिन्, “गाउँपालिकामा हामीले कृषिलाई अलि प्राथमिकता दिएको छौँ । विभिन्न ठाउँमा भूगोलअनुसारका खेती भइरहेका छन् । अबको पाँच वर्षमा यो गाउँपालिकालाई पूर्णरूपमा कृषिमा आत्मनिर्भर बनाउने हामीले लक्ष्य लिएका छौँ ।”

स्थानीय देवराज राईले पनि गाउँपालिकाको सहयोगमा किवी व्यावसायिक खेती थालेको जानकारी दिए । गाउँमा किवीखेती अभियानका रूपमा सञ्चालन भइरहेको उनको भनाइ छ । गाउँपालिकाको सहयोगले निम्न आयस्तर भएका कृषकलाई खेतीमा लाग्न मद्दत मिलेको उनको भनाइ छ ।

कृषक राईले भने, “किवी गर्ने मेरो पनि सोच थियो, धेरै मात्रामा विस्तार गर्न निकै ठूलो लगानी लाग्ने हुँदा अलिअलि लगाएको थिएँ । गाउँपालिकाले ७५ प्रतिशत अनुदान दिएपछि हामीलाई धेरै सहयोग मिलेको छ । यो क्षेत्रका मजस्ता धेरै साथीहरू व्यावसायिक खेतीमा हुनुहुन्छ ।”

यहाँका विभिन्न पकेट क्षेत्रमा लगाइएका बालीलाई कृषि प्राविधिकले आवश्यकरूपमा अनुगमन तथा हेरचाह गर्दै आएका छन् । कृषकले लगाएको किवीमा रोग किराबाट बचाउन कृषि प्राविधिकले स्थलगतरूपमा अनुगमनसमेत गर्दै आएको पौवादुङमा गाउँपालिका कृषि शाखा प्रमुख बर्तेन्द राईले बताए ।

प्रमुख राईले भने, “हामीले उहाँहरूलाई अनुदान सहयोग गरेर मात्र पनि भएन । प्रत्येक किसानले लगाएको किवीलगायत बालीको समयअनुसार अनुगमन गर्दै प्राविधिक सल्लाहसमेत दिँदै आएका छौँ । खेती विस्तार भएपछि यसको उचित ढङ्गले हेरचाह आवश्यक हुन्छ । बहुवर्षीय बाली भएकाले एकपटक हुर्काएपछि सामान्यरूपमा मलजल गरेर दशौँ वर्ष आम्दानी लिन सकिन्छ । त्यही भएर हामीले यहाँका कृषकलाई यसको खेतीमा प्रोत्साहन गरिरहेका छौँ ।”

गाउँपालिकाले कृषकलाई आर्थिकरूपमा सक्षम बनाउने लक्ष्यसहित थालेको कृषिको योजनाबद्ध विकास प्रशंसायोग्य रहेको स्थानीयवासीले बताउँदै आएका छन् ।

योजनाबद्धरूपले कृषिमा थालिएको कामले केही न केही परिवर्तन आउने उनीहरुको बुझाइ छ । कृषकले उत्पादन गरेका कृषिउपजलाई बजारीकरणमा गाउँपालिकासँगै सरकारले ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।

एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । जिल्लाको भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको ४ नं नागीको लुङ्गिन, वडा नं ५ को मझौले, पौवादुङमा गाउँपालिका, आमचोक गाउँपालिकालगायत ठाउँमा पनि किसानले किवीखेती गरिरहेका छन् ।

किवी प्रतिकेजी २५० देखि ३०० रुपैयाँमा बजारमा बिक्री हुने गरेको छ । यसलाई एक हजार ५०० मिटरदेखि दुई हजार ४०० मिटरसम्मको उचाइमा खेती गर्न सकिने कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा