भूकम्प प्रभावित जिल्लामा ब्रोडब्याण्ड इन्टरनेटको क्षमता अभिवृद्धि गरिने



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भूकम्पबाट अतिप्रभावित आठ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेटको क्षमता अभिवृद्धि गरिने बताएका छन् । उनले डिजिटल नेपालको आकांक्षा पूरा गर्ने उद्देश्यका साथ दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र नुवाकोट जिल्लाका स्थानीय तह र वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउन नेपाल दूरसञ्चार प्राधिकरण र स्थानीय तहबीच सम्झौता हुने तयारी भइरहेको जानकारी दिए ।

सञ्चार मन्त्रालयद्वारा मंगलबार स्थानीय तहमा इन्टरनेट पुर्याउनेबारे तिनका प्रतिनिधिसँगको छलफलमा मन्त्री गुरुङले सबै जिल्लाका स्थानीय तहसम्म इन्टरनेट पुर्याइने उद्देश्यानुसार आठ जिल्लाबाट शुरु गर्न थालिएको बताए ।

विसं २०७७ माघ २९ को मन्त्रिपरिषद्को बैठकले दूरसञ्चार नीति, २०६० तथा डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत नेपालका सबै जिल्लामा आवश्यकता र प्राथमिकताका आधारमा विद्यार्थी सहजीकरण निर्देशिका, २०७७ लाई ध्यानमा राखी सेवामा दोहोरो नपर्ने गरी निर्देशिकानुसार प्रयोग गरिएको इन्टरनेट सेवासँग आबद्ध हुने गरी सामुदायिक विद्यालयबाट शुरु गरेर क्रमशः सबै स्थानीय तहका केन्द्र र वडा कार्यालय, स्वास्थ्य केन्द्र जस्ता क्षेत्रमा सम्बन्धित स्थानीय तहका समन्वयमा सूचना प्रबिधिको पूर्वाधार निर्माणको विस्तार गर्ने व्यवस्था मिलाइने निर्णय गरेको थियो ।

सोही निर्णयानुसार प्राधिकरणअन्तर्गतको ग्रामीण दूरसञ्चार विकास कोषका सहयोगमा ती जिल्लाका स्थानीय तहमा दुई वर्षका लागि निःशुल्क इन्टरनेट पुर्याउने तयारी गरिएको हो ।

मन्त्रिपरिषद्का निर्णयमा भनिएको थियो,‘भूकम्प अतिप्रभावित काठमाडौं उपत्यकाबाहेकका ११ जिल्लाहरुमा नवीनतम प्रविधिमार्फत मितव्ययी रुपमा सम्बन्धित स्थानीय तहको समन्वयमा इन्टरनेट सेवाको क्षमता अभिवृद्धि गर्ने ।’

स्थानीय तह र प्राधिकरणबीच सम्झौता गरेर अबको दुई महिनाभित्र ती तहसम्म इन्टरनेट पुर्याउने योजना रहेको मन्त्री गुरुङको भनाइ थियो । “यो बहुवर्षीय कार्ययोजना हो, दुई वर्षसम्म गुणस्तरीय र भरपर्दो इन्टरनेट निःशुल्क उपलब्ध गराइने र दुई वर्षपछि स्थानीय तह र प्राधिकरणले केही प्रतिशत बेहोर्ने गरी व्यवस्था मिलाउने छौँ”, सरकारका प्रवक्ता गुरुङले भने ।

सम्झौतापछि अबको दुई महिनाभित्र ती जिल्लाका स्थानीय तहमा इन्टरनेट पुर्याइने उनको भनाइ थियो । उनका अनुसार प्रत्येक स्थानीय तहमा सूचना केन्द्र स्थापना गर्ने र ग्रामीण क्षेत्रमा देखिएको टेलिफोन टावरको समस्या समाधान गरिने छ ।

सो अवसरमा नेपाल नगरपालिका सङ्घका केन्द्रीय अध्यक्ष अशोकब्याञ्जु श्रेष्ठले स्थानीय तहले गरेका काम एपमार्फत एकीकृत रुपमा हेर्न मिल्ने गरी व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले

याकमार्फत यसरी गरिन्छ सामान ढुवानी(फोटोफिचर)

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी

डोटीमा कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ