विदेशमा रहेका नेपालीले भोग्नुपरेका कानूनी व्यवधानको पर्खाल भत्काउँछुः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका लाखौ नेपालीहरुको मन जित्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो यो कार्यकालमा एनआरएनएले उठाएका माग सम्बोधन गर्ने बताएका हुन् ।

उनले भने, “विदेशमा लाखौं नेपालीहरु छन्, मैले मेरो दोस्रो कार्यकालसम्म एनआरएनएले उठाएका मागहरु सम्बोधनका लागि प्रयास गरें र अब मेरो तेस्रो इनिंग्स्मा विदेशमा बस्ने बहुसंख्यक नेपालीको मन जित्छु ।”

प्रधानमन्त्री दाहालले नेपालमा विद्यमान कतिपय कानूनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई नेपाल सरकारले क्रमशः सच्याउँदै आएको र अबको दिनमा पनि कानूनी उल्झनलाई पन्छाउने प्रयास आफ्नो तर्फबाट जारी रहने बताए ।

प्रधानमन्त्रीले भने, “नेपालका कतिपय परम्परागत ऐन कानून छन्, जसले म नेपालका लागि केही गर्छु भन्नेलाई पनि बाधा व्यवधान खडा गरेको छ, तपाईहरुलाई विश्वस्त पार्न चाहान्छु कि, म त्यस्ता खालका पर्खाललाई भत्काउनेछु ।”

विदेशमा रहेका नेपालीहरुले नेपाल र नेपालीको पहिचान विश्वमाझ पुर्याउन ठूलो भूमिका निर्वाह गरेको भन्दै गैरआवासीय नेपालीप्रति प्रधानमन्त्री दाहालले आभार व्यक्त गरे ।

राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक रुपमा विश्वभर नेपाललाई चिनाउन नेपालीहरु थप संवेदनशील र जिम्मेवार बन्दै गएकोप्रति प्रधानमन्त्री दाहालले खुशी व्यक्त गरे ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै हालसम्म संघले गरिआएको काम, नेपाल सरकारको तर्फबाट संबोधन भइआएका विषयहरु र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानूनी सुधार सम्बन्धमा संघको तर्फबाट धारणा राखेकी थिइन् ।

यस्तै, संघका अध्यक्ष बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’लाई अघि बढाउन देखापरेका कानूनी र व्यवहारिक कठिनाईबारे जानकारी गराउँदै ती कठिनाईलाई तत्काल संबोधन गर्न आग्रह गरे ।

विदेशमा रहेका बहुसंख्यक नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने, विदेशमा कामका शिलशिलामा अंगभंग भएका नेपालीलाई स्वदेश फिर्ता गर्नुका साथै उनीहरुका परिवारलाई आर्थिक सहायतासहित पुनःएकीकरण लगायतका विषयमा नेपाल सरकारले पहलकदमी लिनुपर्ने माग अध्यक्ष केसीले संघका तर्फबाट राखेका थिए ।

यस्तै, संघका अध्यक्ष कुल आचार्यले संघले उठाएको गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न अनुरोध गरे ।

‘एक पटकको नेपाली सदैव नेपाली’ हुने भन्दै अध्यक्ष आचार्यले विविध कारण अन्योलमा परेको नागरिकताको विषयलाई यथाशक्य छिटो टुंगो लगाउन संघका तर्फबाट आग्रह गरे ।

भेटका अवसरमा संघका पूर्वअध्यक्ष, भवन भट्ट, संघका संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, संघका उपाध्यक्ष आर.के शर्मा, सचिव खगेन्द्र न्यौपाने, महिला सचिव राधिका गुरुङ, सहकोषाध्यक्ष नारायण सुवेदी, युवा संयोजक अब्दुल वसिद, संघका पूर्व सल्लाहकार टि.बि कार्की, क्षेत्रीय उपसंयोजक, (मध्यपूर्व) अमित चाम्लिङ राई, एनसीसी रसियाका अध्यक्ष शिवमणि भुर्तेल, आजिवन सदस्य (युएसए) नारायण थापा, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

बैङ्कक । विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले

नेपालमा पढाइन्छ तर जापानमा सिकाउने एभरेष्ट इन्टरनेशनल स्कूल

  नारायण न्यौपाने, टोकियो (जापान) । हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट

दोहामा नेपाल दिवस समारोह

  काठमाडौँ । कतारको दोहास्थित नेपाली राजदूतावासले यही मार्च ८ तारिखका दिन नेपाल

नेपाल–जापानबीचको जनस्तरमा सम्बन्ध विस्तारमा नेपाली समाजको उल्लेख्य भूमिकाः राजदूत सुवेदी

टोकियो (जापान) । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानमा रहेको नेपाली