कोरोना संक्रमणबाट भारतमा २० सहित विदेशमा २३ नेपालीको मृत्यु



काठमाडौं । गत साता भारतमा २० सहित विदेशमा २३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो ।

संघको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाअनुसार गत साता भारतमा २०, कुवेतमा दुई र कतारमा एक नेपालीको कोरोनाका कारण निधन भएको हो ।

भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्य तथा अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा सागर पौडेलका अनुसार नयाँ दिल्लीमा १० र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० नेपालीको निधन भएको हो । निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका छन् । यससँगै हालसम्म विश्वका २१ मुलुकमा संक्रमणका कारण ३७२ नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये २४५ जना मध्यपूर्वका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड १९ का कारण संक्रमित हुने नेपाली ६८ हजार ५०६ जना पुगेका छन् । कुल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७४४ संक्रमणमुक्त भएका छन् ।

गत साता भारत, कुवेत, कतार, युएई, रोमानिया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक र पोल्याण्डमा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको कोभिड १९ उच्चस्तरीय समिति गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

टेलिहेल्थ सेवा प्रयोगका लागि आग्रह
एनआरएनएले शुरु गरेको टेलिहेल्थ सेवाले स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या भए फोनबाट परामर्श लिन सकिने जनाएको छ । समितिले दुई विश्व स्वास्थ्य सम्मेलन आयोजना गरिसकेको र तेस्रो विश्व स्वास्थ्य सम्मेलन सन् २०२१ सेप्टेम्बर १७ देखि १९ मा लण्डनमा आयोजना गरिने जनाइएको छ ।

डा सापकोटाले संघले ‘कम्प्रिहेन्सिभ ग्लोबल टेलिहेल्थ प्रोग्राम’ शुरु गरेर कोभिड १९ बाट जोगिन र संक्रमित भए कसरी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्नेबारे नेपाली भाषामा नै निर्देशिका प्रकाशन गरेको जानकारी दिए । पत्रकार सम्मेलनमा संघका महासचिव डा हेमराज शर्माले महामारीकै बीच पनि ५० देशका तीन सय शहरमा दुई हजार पाँच सय स्वयंसेवक परिचालन गरी सेवा प्रदान गरिएको बताए ।

उनका अनुसार एनआरएनमार्फत एक लाख ७० हजारलाई प्रत्यक्ष रुपमा सेवा प्रदान गरिएको थियो । त्यस्तै संघका संरक्षक एवं पूर्वाध्यक्ष जीवा लामिछानेले विगतका अन्य विपद्मा जस्तै कोभिड महामारीका बेला पनि एनआरएनले नेपालीलाई सघाएको बताए ।
मानसिक स्वास्थ्य समस्यामा वृद्धि
कोभिड महामारीसँगै विश्वभर छरिएका नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको चिकित्सकले बताएका छन् । डा सापकोटासहित पत्रकार सम्मेलनमा विभिन्न देशबाट भर्चुअल माध्यमबाट सहभागी चिकित्सकले मानसिक रोगको अवस्था चिन्ताजनक रुपमा देखिएको बताए । महामारीका कारण व्यापार व्यवसाय बन्द हुने, संक्रमित हुने तथा परिवारमै मृत्यु हुने, रोजगारी गुम्नेलगायत समस्याले मानसिक समस्या बढ्दै गएको उनीहरूले बताए ।

मानसिक समस्या समाधानका लागि स्वास्थ्य समितिले तालीम सञ्चालन गरेको डा सापकोटाले जानकारी दिए । त्यस्तै आत्महत्या रोकथामका लागि पनि कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

स्वास्थ्य समितिमा नेपाल तथा विश्वका विभिन्न मुलुकमा कार्यरत नेपाली चिकित्सक सहभागी छन् । विदेशमा रहेका नेपालीको अवस्थाको तथ्यांक संकलनमा युरोपबाट डा बोधराज सुवेदी, बेलायतबाट डा दिलीप यादव, कतारबाट डा नितेश अर्याल, दक्षिण अफ्रिकाबाट डा सरिता भट्टराई र स्पेनबाट नर्स सांग्रिला लामालगायतको टोलीले सहयोग गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

बैङ्कक । विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले

नेपालमा पढाइन्छ तर जापानमा सिकाउने एभरेष्ट इन्टरनेशनल स्कूल

  नारायण न्यौपाने, टोकियो (जापान) । हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट

दोहामा नेपाल दिवस समारोह

  काठमाडौँ । कतारको दोहास्थित नेपाली राजदूतावासले यही मार्च ८ तारिखका दिन नेपाल

नेपाल–जापानबीचको जनस्तरमा सम्बन्ध विस्तारमा नेपाली समाजको उल्लेख्य भूमिकाः राजदूत सुवेदी

टोकियो (जापान) । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानमा रहेको नेपाली