आज ५६ जिल्लामा कांगेसको वडा अधिवेशन



काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ/नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा यही भदौ १८ गतेदेखि वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्रीसमेत पठाइसकिएको छ ।

उनले भने, “क्रियाशील सदस्यता सूची भएका वडामा सम्भव भएसम्म सबैमा भोलि नै अधिवेशन हुन्छ, केही वडामा नाम छुटेका र मिलाउनुपर्ने भएको अवस्था समितिको रोहवर एक/दुई दिन पछाडि सार्न सकिन्छ । शुक्रबार कति वडामा अधिवेशन सम्पन्न हुन्छ भन्नेमा चाहिँ अहिले नै यकिन गर्न सकिँदैन ।”

करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफने वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने कांग्रेस विधानमा उल्लेख छ । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

मुलुकभरका सबै छ हजार ७४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६८१ निर्वाचित हुने संयोजक यादवले जानकारी दिनुभयो । यसबाहेक मनोनित हुनेको सङ्ख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बाँकी २१ जिल्लाको क्रियाशील सदस्यता नामावली क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ/नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने जानकारी दिए । कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले वडा अधिवेशन आवश्यक प्रक्रिया तथा अन्य सूचनाबारेमा सुसूचित गर्न दृश्य सामग्री प्रसारण गरेको छ ।

कांग्रेसको विधानमा टोल, वडा, गाउँपालिका/नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति गरी आठ तहगत पार्टी संरचनाका व्यवस्था गरिएको छ ।

कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

साढे पाँच वर्षपछि हुन लागेको कांग्रेसको आसन्न महाधिवेशनलाई पार्टीका नेताकार्यकताले उत्सवका रूपमा लिएका छन् र अधिवेशनका लागि यतिखेर नेताकार्यकर्ताहरु गाउँगाउँमा पुगेर प्रचार अभियानको अन्तिम चरणमा छन् ।

मुलुक सङ्घीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ । यसअघि कांग्रेसको १३औँ महाधिवशेन २०७२ साल फागुनमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनमा नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच मुख्य प्रतिस्पर्धा भई देउवा सभापतिमा निर्वाचित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय